हुलाकी न्यूज, काठमाडौं ३१ भदौ । नेपालको नयाँ संविधान अनुमोदन भएपछि चीनले खुशी व्यक्त गरेको छ भने भारतले राजनीतिक अवस्था बारे बुझ्न विशेष दुत पठाउँदैछ । चीनको वेइजिङ्गमा आयोजित पत्रकार सम्मेलनमा चीनका विदेश मन्त्रालयका प्रवक्ता होङ्ग लेइले खुशी व्यक्त गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएको छ ।

यता संविधानसभाबाट अनुमोदन भएको नयाँ संविधानप्रति भारत सन्तुष्ट नरहेको भन्दै भारतका विदेश सचिव एस. जयशंकर शुक्रबार नेपाल आउन लागेको जानकारी पत्रकार प्रशान्त झाले टुईट गरेका छन् ।

बिहिबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका विदेश मन्त्रालयका प्रवक्ता होङ लेइले भने,‘नजिकको छिमेकी देश नेपालको संविधानसभाबाट नयाँ संविधान अनुमोदन भएको देखेर चीन खुसी छ, सामाजिक प्रणाली तथा विकासको आफ्नै बाटो रोज्ने नेपालको स्वतन्त्राको हामी समर्थन र सम्मान गर्छौँ ।’

संविधानसभाको अत्याधिक बहुमतबाट नयाँ संविधान अनुमोदन भएको र ३ असोजमा राष्ट्रपतिले जारी गर्ने कार्यक्रम रहेको भन्दै पत्रकार सम्मेलनको शुरुमा यसबारे चीनको प्रतिक्रिया मागिएको थियो । संविधान पारित भए पनि जारी नभएको अवस्थामा छोटो प्रतिक्रिया दिँदै ‘चीनले नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकास चाहेको’ प्रवक्ता होङले बताएको सञ्चार माध्यमहरुले जनाएको छ । संविधानसभाले पारित गरेको संविधान हिमाली राज्य नेपालको ‘पहिलो पूर्ण संविधान’ भएको चिनियाँ सञ्चार माध्यमले टिप्पणी गरेको देखिन्छन् ।

यता संविधान निर्माणप्रति असन्तुष्ट रहेको छिमेकी मुलुक भारतले शुक्रबार विशेष दुत पठाउन लागेको हो । वर्तमान राजनीतिक अवस्थालाई मध्यस्तकर्ताको रुपमा काम गर्न विशेष दुत पठाइन लागिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
शुक्रबार विहान आउने भारतको विशेष दुत जयशंकरले प्रधानमन्त्री, राष्ट्रपति, मधेशवादी दलका नेता तथा अन्य नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.