sadbhawana flag
हुलाकी न्यूज, काठमाडौं ३२ साउन । मधेश आन्दोलनको घटनाबारे प्रहरीले महोत्तरीमा जारी गरेको पक्राउ पुर्जीप्रति राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले विरोध जनाएको छ ।

सद्भावना पार्टीका महामन्त्री मनिष सुमनले मंगलबार प्रेस विज्ञप्ति जारी गरी प्रहरीले जारी गरेको पक्राउ पुर्जीबारे गृहमन्त्रालयले जवाफ दिनुपर्ने माग गरेका छन् ।

मधेश आन्दोलनको क्रममा भएको केही घटनाहरू लाई अतिरंजित तरीकाले अगाडि बढाउंदै नेपाल प्रहरीद्वारा कानूनी कार्रवाही शुरू गरेको प्रति सदभावना पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

महोत्तरी जिल्लामा मोर्चाका नेता कार्यकर्ता माथि राजनीतिक प्रतिशोधले नेपाल प्रहरीद्वारा दायर भएको मुद्दामा पक्राउ पुर्जी जारी हुनुले नेपाल सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीको नीयत माथि ठूलो शंका उब्जाएको सद्भावनाको निष्कर्ष छ ।

मधेशी मोर्चा र सरकार बीच मधेशको समस्या समाधानका लागि प्रयास भई रहेको र सरकारको केही निर्णयले समस्या समाधान सकारात्मक दिशामा अघि बढेको र दुबै पक्षमा विश्वासको वातावरण बन्नै लागेको अवस्थामा नेपाल प्रहरीको यस कदमले मुद्दा सम्बोधनमा सरकारको प्रयासमा प्रश्नचिन्ह लागेको छ ।

महोत्तरीमा नेपाल प्रहरीद्वारा जारी भएको पक्राउ पुर्जी बारे गृहमन्त्रालयले तत्काल जवाफ दिनु पर्ने माग सद्भावनाले गरेको छ । सरकार र मधेशी मोर्चाबीच वार्ता चलिरहेको अवस्थामा वार्तामा कुनै पनि नकारात्मक असर पार्ने र बन्दै गएको विश्वासको वातावरणमाथि संकट आउने कुनै पनि कदम न चाल्न नेपाल प्रहरीलाई पनि संयमता र धैर्यता अपनाउन सद्भावनाले अपीलसमेत गरेको छ ।

साथै सदभावना पार्टी झुठा मुद्दामा फंसेका र आन्दोलनको क्रममा पक्राउ परेका सबै आन्दोलनकारीको हरेक क्षण साथ रहने र सरकारले मांग पूरा नगरे सम्म दबाब बनाउने र मांग पूरा नगरे त्यसको विरूद्धमा कडा कदम चाल्ने प्रतिबद्धता सद्भावनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.