Sabedori
हुलाकी न्यूज, रियाद, ३१ साउन ।
सउदी अरब बस्ने आप्रवासी मधेशीहरुले सप्तरीका बाढी पीडितहरुलाई सहयोग गरेका छन् । उनीहरुको सहयोगमा तिलाठी २,५ र ६ वार्ड नम्बरका सयभन्दा बढी बाढी पीडित परिवारलाई सोमबार साबेको डोरी लगायतका घर बनाउने सामग्री वितरण गरिएको छ ।

निर्मल कुमार मण्डलको संयोजनमा उठाइएको १७ हजार नेपाली रुपैयाँ बराबरको सहयोग राशीबाट ती सामग्रीहरु वितरण गरिएका हुन् । बाढीबाट क्षतविक्षत भएका अधिकांश घर फुसको भएको हुनाले सो डोरी आफूहरुलाई निकै उपयोगी हुने स्थानीयवासीहरुले बताए । ‘महँगो एक्वाबक्स भन्दा त बरु यही उपयोगी छ । एउटा कै २५–२५ हजार पर्ने एक्वाबक्स पनि गाउँमा खासै उपयोगी नै छैन । हामीले सामानहरु थन्काएर त्यो बक्सा गोबर उठाउन नै प्रयोग गरिरहेका छौं ।’ एक स्थानीयले भने ।

‘विदेशमा आफ्ना साथी भाइहरुले दुःख गरी कमाएको पैसाले हातले बटारिएको साबे डोरी खरीद गरी वितरण गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।’ राहत बाँडन सहयोग गर्ने मध्ये एक राम नारायण साहले बताए, ‘यस्तो घरमै तैयार पारिने स्वदेसी सामग्रीको प्रयोगले स्थानीय विपन्न जनताको आयस्रोत पनि बढने, उता पाउनेका लागि सीधै घर बनाउन उपयोगी पनि हुने भएकाले हामीले विदेशी साम्रगीको सट्टा यो चयन गरेका हौं ।’

अरु बाढीपीडित ठाउँमा पनि यस्तै किसिमले थप घर निर्माण सामग्री वितरण गरिने योजना रहेको कुरासमेत उनले खुलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.