
हुलाकी न्यूज, काठमाडौं २८ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा/संघीय गठबन्धनसँग गरेको तीनबुँदे सहमति अवसरवादी चरित्र रहेको टिप्पणी गरेका छन् ।
नयाँ शक्ति नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको एक छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सो आरोप लगाएका हुन् ।
उनले भने, ‘कांग्रेस र माओवादी केन्द्रले सीमांकन हेरफेरबारे मधेशी मोर्चासँग गरेको सम्झौता पनि अवसरवादी चरित्रको रहेको छ ।’
उनले प्रदेशको सीमांकनको विषयमा विवाद रहेको अवस्थामा स्थानीय तहको पुनर्संरचनाको काम अगाडि बढाउनुको औचित्य नरहेको धारणा राखेका छन् ।
साथै भट्टराईले संविधान संशोधनका लागि छलफल चलाउन ढिलो भइसकेको जिकिर गरे ।



