Tharu_looksइन्दु चौधरी

नेपालमा सबैभन्दा बढी उत्पीडनमा परेको जाती कुनै छ भने त्यो थारु जाती हो । परिवर्तनका लागि ठूला ठूला क्रान्ति र आन्दोलनहरु भएका छन् नेपालमा । त्यसका माध्यमबाट थुप्रै अग्रगामी परिवर्तन नभएका पनि होइनन् । २०६२—६३ को आन्दोलनबाट सबैभन्दा ठूलो उपलब्धीका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल प्राप्त भयो ।

एकात्मक राज्य प्रणालीको अन्त्य गर्दै संघीयतामा देश जाने साथसाथै सबै वर्ग क्षेत्र लिंग जाती दुर्गम र दुरवर्ती क्षेत्रका जनताहरुको समान सहभागिता र समावेशीका कुरा चर्को रुपमा उठाइए । नया संविधान जारी गरियो । तर विडम्बना यही लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा नेपालका सबैभन्दा सोझा भनिने थारु माथि चरम दुव्र्यवहार, अन्याय र अत्याचार हुन्छ ।

थारु तिमी साच्चै कति सोझो भएको ? तिमीले मान्छे बस्न लायक बनाएको जमिन तिमीबाट खोसिन्छ । मानव सभ्यताको सुरुवात गरेको तिम्रो भुमिबाट तिमीलाई भुमिहिन बनाइन्छ । समाजमा कलंकको रुपमा रहेको दास प्रथालाई निरन्तरता दिइन्छ, त्यो पनि तिमी थारुलाईनै कमैया कम्लहरी बनाएर । तिम्रो भुमिको मालिक कोइ अरु हुन्छ अनि तिमी आफ्नै भुमिबाट विस्थापित हुन्छौ । तिम्रो भाषा, रहनसहन, खानपान, चालचलन, रितिथिति संस्कार संकृति सबैको मजाक बनाइन्छ तिम्रै भुमिमा । तिमीले सुंगुरको मासु खादा सुंगुर खाने भनि हेपिन्छ, मुसा खादा मुसा खाने भनि अपमान गरिन्छ । तिम्रो संस्कृति माथि ढावा बोलिन्छ, तिमी चुपचाप बसिरहन्छौं ।

वर्षौ वर्षदेखि सहदै आएको अपमान, दुव्र्यवहार, अन्याय र अत्याचार एक न एक दिन त विष्फोट हुनुनै थियो । त्यो टीकापुरमा विष्फोट भयो । यद्यपी त्यो विष्फोट त्यति दुखद गरि नहुनु पर्ने थियो । त्यो विष्फोट हुनुमा तिम्रो दोष छैन थारु, आफूलाई दोषी मानेर पश्चाताप नगर्नु ।

वर्षौ वर्षदेखि सहदै आएको अपमान, दुव्र्यवहार, अन्याय र अत्याचार एक न एक दिन त विष्फोट हुनुनै थियो । त्यो टीकापुरमा विष्फोट भयो । यद्यपी त्यो विष्फोट त्यति दुखद गरि नहुनु पर्ने थियो । त्यो विष्फोट हुनुमा तिम्रो दोष छैन थारु, आफूलाई दोषी मानेर पश्चाताप नगर्नु । दोष थियो त केवल यो विभेदकारी राज्यको, दोष थियो त सामन्ती चिन्तन बोकेका शासकहरुको, दोष थियो त थारुहरुलाई फेरी पनि राजनैतिक कमैया कम्लहरी बनाउनेहरुको, दोष थियो त तिम्रो भुमिलाई आफ्नो बकौती सम्झी रौ पनि दिन्न भन्नेहरुको ।

धेरैले तिमीलाई नै दोषी देख्लान् । तिमीले आफ्नो रगत पसिनाले बनाएको उर्वर भुमी अनी आफ्नो स्वजातीयहरुको बाहुल्यता भएको भुमिको एउटा कलष्टर माग्दा तिमी दोषी मानिन्छौ । तिमीले आफ्नो भाषा, पोशाक, संस्कार संस्कृतिलाई थारुको मात्रै पहिचान नभई, थारुको पहिचानलाई नेपाली हुनुको पहिचानसंग जोड्न खोज्दा तिमी दोषी मानिन्छौ । तिमीले कुनै न कुनै रुपमा कमैया कम्लहरी हुन स्विकार गर्दा सामाजिक सद्धाव देखिने तर स्वतन्त्रता र मुक्तिको आवाज उठाउदा सद्धाव विगारेको भनि दोषी मानिन्छौ । तिमीमाथि रजाइ गर्दै आएका र फेरी त्यसैलाई निरन्तरता दिन खोज्नेहरुको नजरमा तिमी दोषी देखिने त भयौ नै ।

indu tharu
उहिलेका शासकहरुले आफ्नो शासन टिकाइरहनका लागि नेपालीलाई विभिन्न जातजातीमा विभाजित गरेका थिए । अहिलेका शासकले झन सबैभन्दा ठूलो विभाजन ल्याइदिए । नेपाली जनता बीचमा जातीगत, समुदायगत सबैभन्दा ठूलो विभाजन संविधान घोषणा गर्ने दिन देखियो । छिमेकीको मन दुख्दा संगैको अर्को छिमेकीको घरमा दिपावली मनाउने संस्कारको विकास गर्न खोजे शासकले । यसमा दिपावली गर्ने छिमेकीको भन्दा बढी दोष त शासनसत्तामा आसिन शासकहरुको थियो । जसले नेपाली बिचमा ठूलो फाटो ल्याउने काम गरे । तिम्रो छिमेकी जोशीसंग त तिम्रो सम्बन्ध राम्रै थियो । संगै पढ्ने तिम्रो साथी भट्टसंग पनि राम्रै सम्बन्ध थियो । तिम्रो लडाई राज्य संगको हो, कुनै जाति विशेषसंगको होइन, यो कुरा त तिमीले राम्रै गरी बुझेका छौ नि थारु ।

नहुनु पर्ने टीकापुर घटना पश्चात तिमीमाथि थुप्रै किसिमका अमानवीय व्यवहार भए । थारुहरुका घरभित्र राखिएका साइकल मोटरसाइकल अन्य सम्पत्ति तोडफोड गरिन्छ, राज्यका प्रतिनिधिहरु टुलुटुलु हेरिरन्छन्, सम्भवत मनमनै मुस्कुराए पनि होलान् ।टीकापुरमा थारुहरुका लागि मात्रै कफ्र्यु लगाइन्छ, सेना परिचालन गरिन्छ । कफ्र्युमा थारुहरुलाई घरभित्रै थुनिएर बसेका थारुका घर, पसल, रिसोर्टाम आगो लगाईन्छ, लुटपाट गरिन्छ । कफ्र्यु आदेश गर्ने प्रशासन र सुरक्षा दिने नाममा खटिएका सुरक्षाकर्मीको उपस्थितिमा थारुका घर पसल छानी छानी लुटपाट हुनु र आगजनी हुनु कति निन्दनीय छ ।

केही कथित उच्च जातीका उच्छृंखल समुह र राज्यका प्रतिनिधिहरुको मिलेमतोमा एउटा जाती विशेषमाथि भएको यो ज्यादती जातीबादको उग्र रुप हो । पुलिस प्रशासनको प्रत्यक्ष उपस्थितिमा कफ्र्युका बेला थारुमाथि भएको यो अत्याचारले राज्यको माथिल्लो देखि तल्लो तहसम्मको निकाय जातीबादी र विभेदकारी रहेको स्पष्ट हुन्छ ।

कफ्र्यु तोडेर थारुका घरमा आगो लगाउदा मुखदर्शक भएर हेर्ने राज्यका प्रतिनिधीहरु त्यही निकाय अन्तर्गतका प्रतिनिधि हुन् जसले निषेधाज्ञा तोडे भनेर मधेशीहरुको आनदोलनमा ताकेरै मधेशीहरुको टाउको र छातीमा गोली ठोकेका थिए ।

आदेश त माथिल्लो निकायमा बस्नेहरुकै थियो होला, राज्यको यो विभेदकारी नीति कार्यान्वयन गर्नमा सुरक्षाकर्मीनै अग्रपक्तिमा रह्यो । थारुहरुलाई सम्पूर्ण रुपमा त्रसित बनाइयो । थारु गांउमा सन्नाटा छायो । टीकापुर घटना पछिको दशैंमा थारु गांउमा मादल बजेनन् । झुम्रा र सखिया नाच भएनन् । थारु महिलाले घर लिपपोत गरेनन् । खोलामा माछा मार्न गएनन् । परम्परा देखि निभाउदै आएका आफ्ना संस्कार पुरा गरेनन् । पुरुषहरु, विशेषगरी युवाहरु घर बस्न सकेनन् ।

गाउँका भलमन्सा मुखियाहरु प्रहरीका मुख्य रुपमा तगारो बने । हतियार लुकाएको छ भन्दै थारुहरुका देहरी कुठ्ली (अन्न राख्ने माटोको भकारी) भत्काइए , र त्यस भित्र राखेका धान गहुं चामल एकैमा मिसाइए । कतिपय थारुहरुलाई निर्घात कुटपिट गरे, र मर्यो भनि छोडेर हिडे । एउटी थारु महिलालाई कुटपिट गरी ढुंगै ढुंगा भएको ग्रावेल बाटोमा चल्दै गरेको आफ्नो गाडीबाट धक्का दिएर खसालिदिए । एउटी महिनावारी भएकी थारु महिलाको खुट्टामा थोरै रगत देखेर पुलिस मार्ने यही हो भनि कुटपिट गरे । यसरी कैयौं प्रकारले राज्यका प्रतिनिधि बन्दुकधारीहरुको बन्दुकले थारु गांउहरुमा सन्नाटा लयाईदियो । अझै पनि थारु गांउहरु केही सहज भए पनि रौनकता भने आउन सकेको छैन ।

टीकापुर घटनाका वास्तविक दोषी पत्ता लगाउनु राज्यको जिम्मेवारी हो । तर गैरजिम्मेवार तरिकाले केही सोझा थारु र केही थारु नेताहरुलाई पक्राउ गरिन्छ । पक्राउ परेका मध्ये केही त दिनभर मजदुरी गरी सांझ बिहानको छाक टार्ने गर्थे । केही नेपाली खस भाषा समेत बोल्न जान्दैनन् । गिरफ्तार गरिएकालाई केही नलेखिएको खाली कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाइन्छ । कस्टडीमा रहेकाहरुलाई तं थारु भन्दै असभ्य गाली गलौज गरिन्छ । मरासन्न हुने गरी यातना दिईन्छ । बन्दी बनाइएकाहरु मध्ये कसैलाई जातीय गाली गरिन्छ भने त्यो पनि थारुलाईनै गरिन्छ । पुकार खाएर थारु भन्दै बन्दीको अनुहारमा थुकिन्छ ।

टीकापुर घटना पछि थारुहरुमाथि गरिएको ज्यादतीका विरुद्धमा कोही केही बोल्दैनन् । मानवअधिकार आयोगले थारुहरुको मानवअधिकार हनन् भएको भन्छ तर आयोगको रिपोर्ट बाहिर सार्वजनिक गरिदैन । कुन्नि के छ त्यो रिपोर्टमा, लुकाएर राखिन्छ ।

थारुको होईन, सत्य र न्यायका पक्षमा सार्वजनिक भएको एमनेष्टी इन्टरनेशनलको रिपोर्टको विरोध गरिन्छ । सत्य तथ्यमा आधारित एमनेष्टीका रिपोर्टको विरोध पनि राज्यको एउटा जिम्मेजार अंगले गर्छ तर अर्को जिम्मेवार अंग मानव अधिकार आयोगको रिपोर्ट भने सार्वजनिक गर्दैैन ।

तिमीमाथि खुलायाम यतिको अत्याचार भैसक्दा पनि किन यति मौन छौ ? सरकारी गोलीले तिम्रो बोली बन्द गरेकै हो त ?तिमी झुकेकै हो त ? थारु के साच्चै तिमी अब नब्युझने गरी सुतेकै हो त ?

कभर फोटो : प्रकाश थारु

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.