
हुलाकी न्यूज, काठमाडौं २४ साउन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग तीनबुँदे सहमति गरी सरकारलाई समर्थन दिएका मधेशी मोर्चाको माग तत्कालै पूरा हुन नसक्ने सत्ता साझेदार दलकै एक नेताले बताएका छन् ।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा कांग्रेस नेता डा. नारायण खडकाले मोर्चाले भनेबमोजिम उसका मागहरु एकैपटक सम्बोधन गर्न नसिकने स्पष्ट पारेका छन् ।
जबकि कांग्रेस सभापति शेरबहादुर देउवाले मोर्चासँगको तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
साक्षात्कारमा बोल्दै नेता खड्काले मधेशी मोर्चाको माग पूरा गर्नेबारेमा प्रमुख राजनीतिक दलहरु गम्भिर बन्नुपर्ने बताउँदै भने,‘दुवै पक्षले अतिवादी सोच त्याग्नुपर्छ, मोर्चाका नेताहरुले उठाएका मुद्दाहरुले मधेशमा जरा गाडिसेको छ, नेताहरु हराएपनि मुद्दा जिवित नै रहन्छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।’
सोही कार्यक्रममा नेकपा एमालेका सचिव भीम आचार्यल भने, ‘यो संविधानमा जनताका अधिकारहरु समेटिएका छन्, पार्टीको वा व्यक्तिको कुरा संविधानमा राख्ने विषयमा एमाले कुनै हालतमा सहमत हुँदैन् ।’
नेता आचार्यले संविधान संशोधन गर्नुपर्ने भए राजनीतिक सहमतिमार्फत आउनुपर्ने बताउँदै भने, ‘यो सरकारले जबरजस्ती संशोधन प्रस्ताव ल्याए एमाले यसको विपक्षमा उभिनेछ, हाम्रो समर्थन हुँदैन ।’
उनले जातीय र क्षेत्रीयताको आधारमा प्रदेशको सिमाकंन गर्ने कुरामा आफ्नो पार्टी कुनै हालतमा सहमत नहुने दाबी गरे ।
मधेशी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा भोट हालिसकेको उल्लेख गर्दै मोर्चा सत्तापक्ष भैसकेकोले अब पनि मोर्चाले आफूलाई प्रतिपक्ष भन्न नमिल्ने बताए । उनले भने,‘मोर्चा सरकारमा जाओस्, सरकारसँग मिलेर संविधान संशोधन प्रस्ताव ल्याए एमालेले त्यसमा विचार गर्छ ।’
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले मधेशी मोर्चाले पनि सरकारमा सहभागी जनाउने बारेमा ठोस निर्णय गरिनसकेकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे ।



