हुलाकी न्यूज, जनकपुरधाम २४ साउन । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल धनुषाको जिल्ला अधिवेशन यही २७ गते जनकपुरमा हुने भएको छ ।
सेन्टरले दुई दिवसीय कार्यक्रम गरि एकता भेला तथा अधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रेस सेन्टर नेपाल धनुषाका अध्यक्ष दिपेन्द्र सिंहको अध्यक्षतामा आइतवार जनकपुरमा बसेको बैठकले आगामी २७ गते भव्यताका साथ एकता भेला तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशन तथा एकता भेलाको उपलक्ष्यमा अधिवेशन भन्दा एकदिन पूर्व २६ गते रक्तदान कार्यक्रम गर्ने निर्णय भएको प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा धनुषाका सचिव राम एकवाल महराले बताए ।
एकता भेला भव्यताका साथ सम्पन्न गर्न अध्यक्ष दिपेन्द्र सिंहको संयोजकत्वमा अधिवेशन आयोजक समिति, किरण कर्णको संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिति र दिपक मिश्रको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन व्यवस्थापन समिति गठन समेत गरिएको महराले जनाए ।
रक्तदान कार्यक्रमको लागि दिपक कर्णको संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
बैठकमा सेन्टरका केन्द्रिय सदस्यहरु सुरेश यादव, अनिल मिश्र, किरण कर्ण, संजिव कुमार मंडल, शैलेन्द्र महतोका साथै सदस्यहरु दिपक कर्ण, दिपक मिश्र, गोविन्द महतो, नेहा झा, ज्योती झा, सुदिप कुमार शर्मा, राजेश पासवान, जितेन्द्र सिंह लगायतको उपस्थिति थियो ।
केही दिन अघि २ नम्बर प्रदेश स्तरीय एकता भेला भएपछि जिल्ला स्तरिय भेला तथा अधिवेशन गर्न लागिएको महराले बताए । केही महिना अघि १० माओवादीबीचमा एकता भएपछि देशभर प्रदेश तथा जिल्ला स्तरमा एकता भेला तथा अधिवेशन गर्ने जारी रहेको छ ।



