
हुलाकी न्यूज, काठमाडौं २४ साउन । राष्ट्रिय युवा परिषद्ले युवाहरुलाई लक्षित गरी यही साउन २६, २७ र २८ गते काठमाडौंमा राष्ट्रिय युवा सम्मेलन २०१६ सञ्चालन गर्ने भएको छ ।
आईतबार परिषदले पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको हो । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषदका अध्यक्ष सरोज बानियाँले भने, ‘युवाहरुलाई उद्यमशिलता बिकास, व्यक्तित्व विकास, नेतृत्व विकास साथै उनीहरुको क्षमता अभिवृद्धि सम्बन्धि सिप सिकाई युवाहरुलाई स्वाभलम्बि तथा उनीहरुको आत्मविश्वासको विकास गर्नको लागि क्रियाशिल गर्न हामीले ७५ वटै जिल्लाहरुबाट युवाहरुलाई सहभागी गराई विश्व नेतृत्वमा युवा भन्ने नाराका साथ सम्मेलन गर्दैछौं ।’
उनले युवाहरुको व्यक्तित्व विकास गरी मुलुकको विभिन्न भागमा छरिएर रहेका युवाहरुको ज्ञान र सिपको सदुपयोग गरेर देशको विकास गर्नको लागि आफूहरु लागिपरेको उल्लेख गर्दै भने,‘यो सम्मेलन यही कार्यको एउटा महत्वपूर्ण पाटो बन्नेछ भन्ने विश्वास हामीले लिएका छौं ।’
अध्यक्ष बानियाँका अनुसार परिषदले विगतदेखि उक्त सम्मेलन गर्दै आएको छ । उनले थपे,‘नेपाली युवाहरुलाई नेपालमा उद्यमीको रुपमा खडा गराउने विषयमा पनि यस सम्मेलने महत्वपूर्ण भुमिका खेल्नेछ ।’



