youth forum
हुलाकी न्यूज, काठमाडौं २३ साउन । संघीय समाजवादी फोरमका सचिव अजम्बर काङमाङ राईले कांग्रेस–माओवादीसँग संघीय गठबन्धनले गरेको तीन बुँदे सहमति कार्यान्वयन भइसकेको भए तापनि चुनौती अझै बाँकी रहेको बताएका छन् ।

शनिबार सुनसरी–काठमाडौं सम्पर्क समितिद्वारा राजधानीमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा युवाको भूमिका’ विषयक अन्तरक्रियामा सचिव राईले यस्तो बताएका हुन् ।

युवा नेतासमेत रहेका राईले तीन बुँदे सहमतिको बुँदा नम्बर ३ अनुसारै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री निर्वाचित मधेसी मोर्चासहितको गठबन्धनले मतदान गरेको स्मरण गराए ।

उनले आन्दोलनका क्रममा सहीद भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिने, झुटा मुद्दा फिर्ता लिने र घाइतेको उपचार खर्च उपलब्ध गराउने सरकारी निर्णय बुँदा नम्बरको २ मा उल्लेख भएबमोजिम रहेको जनाए । ‘सरकारले बुँदा नम्बर २ अनुसार निर्णय गरे तापनि कार्यान्वयनको प्रक्रियामा छ,’ उनले भने ।

साथै, उनले बुँदा नम्बर १ कार्यान्वयननिम्ति एमालेको समेत सकारात्मक भूमिका र सहयोग आवश्यक रहेकाले चुनौती रहेको बताए । ‘अब बुँदा नम्बर १ कार्यान्वयननिम्ति एमाले कसरी प्रस्तुत हुन्छ, यसमा भर पर्छ,’ उनले थपे ।

लामो समय आमा–बाबाको उपचारसँगै स्वयंको स्वास्थ्य उपचारपछि पहिलो पटक सार्वजनिक मञ्चमा देखा परेका राईले मुलुकलाई सही नेतृत्व दिन युवा पुस्ताले राजनीतिसँगै उद्यमशील बन्न पनि जोड दिनुपर्ने सुझाव दिए ।

‘युवा पुस्ता उद्यमशील नबनिन्जेल मुलुकलाई समृद्धितर्फ डोहो¥याउन सकिन्न,’ उनले उपस्थित युवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘युवा उद्यमशील बने राजनीतिमा भ्रष्टाचार कम हुन्छ ।’

समितिका सभापति सुकदेव चामलिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पार्टीका अध्यक्ष उपेन्द्र यादव आउने भनिए तापनि आकस्मिक रुपमा उनी भैरहवा जानु परेकाले उपस्थित भएनन् ।

यादवको अनुपस्थितिमै सम्पन्न कार्यक्रममा संगठन विभाग सचिव ध्यानबहादुर राई, सुनसरी जिल्ला इन्चार्ज भीम राई, केन्द्रीय सम्पर्क समिति इन्चार्ज भूपेन्द्र नेम्बाङ, समाजवादी युवाका इन्चार्ज विष्णुजंग बस्नेत, वीरेन्द्र बोगटीलगायतले विचार राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.