tmsf1
हुलाकी न्यूज, काठमाडौं २२ साउन । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथि नेपालको उपनिवेश अझै पनि कायमै रहेको बताएका छन् ।

उनले आफूहरु त्यसको अन्त्यका लागि लडाइँ लडिरहेको बताए । तमलोपाको भ्रातृ संगठन तराई–मधेश विद्यार्थी फ्रन्टको ८औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित एक अन्तरसम्वाद कार्यक्रममा सो कुरा बताएका छन् ।

कांग्रेस–माओवादीको गठबन्धनसँग मधेशी मोर्चासहितको संघीय गठबन्धनले गरेको तीनबुँदे सहमतिबारे प्रष्ट्याउँदै ठाकुरले भने, ‘हामीले तीनबुँदे सहमति गरेर आत्मसमर्पण गरेका छैनौं ।’

उनले एमाले सरकारभन्दा कांग्रेस–माओवादी आफूहरुको मागप्रति सराकात्मक भएको र माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेको तीनबुँदे सहमति गरेको धारणा राखे ।

कार्यक्रममा राजनीतिक विश्लेषक सीके लालले संसदीय राजनीतिमा सम्झौता गर्नुपर्ने भएकोले यो सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिए । उनले मधेशी मोर्चाले गरेको सहमतिप्रति चनाखो भएर बस्नुपर्ने बताए ।

मानवअधिकारवादी तथा अधिवक्ता दीपेन्द्र झाले मधेशी मोर्चाले गरेको तीनबुँदे सहमति सकारात्मक रहेपनि त्यसको कार्यान्वयन पक्षमा भर पर्ने बताए । उनले संविधान संशोधन विधेयक दर्ता हुने बित्तिकै सरकारमा सहभागी हुन तयार नहुन आग्रहसमेत गरे ।

कार्यक्रममा विश्लेषक तुलानारायण साह, संघीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष मो. लालबाबु राउत गद्दी, सद्भावना पार्टीका महासचिव मनिष सुमन, रामसपाका महासचिव केशव झा लगायतले आआफ्नो धारणा राखेका थिए ।
सो कार्यक्रम फ्रन्टका अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.