प्रभाकरप्रसाद साह
‘मृत्यु सत्य हो, हामी हरेक पल मृत्युको नजिक गइरहेका छौँ र यो निश्चित छ । प्रश्न मृत्यु कस्तो हुनुपर्छ भन्ने मात्र हो ।’ सन्त कबिरको यो भनाइको सार्थकता पहिचानको लडाइँमा वीरगति प्राप्त गरेका शहीदहरूको अन्तिम संस्कारमा ओर्लिएको जनसागरले दिएको छ । प्रहरीको गोली लागी शहादत प्राप्त गरेका संजय चौधरी, निकु यादव र दिपक यादवलाई श्रद्धाञ्जली दिन ओर्लिएको करिब ३० हजारजनाभन्दा बढी सम्मिलित जनसागरले ती शहीदले आफ्नो जिन्दगी सार्थक पारेको प्रमाणित गर्छ । ‘जो मृत्युसँग कहिले डराउँदैन, निडर हुन्छ, उसले नै वास्तविक जिन्दगी बाँच्दछ’ भन्ने ओशोको भनाइलाई पनि शहीद संजय चौधरीले चरितार्थ गरेका छन् ।

महान शहीदहरूको भावपूर्ण अन्तिम यात्राको दृष्य हेरिरहँदा शहीद संजय चौधरीसँग बिताएको एक एक पल मेरो आँखासामु झल्किरहेको थियो । निडर स्वभावका चौधरी मृत्युदेखि कहिले डराएनन्, बरु उनी त मृत्यु कस्तो हुनुपर्छ भन्नेबारे जहिले पनि चर्चा गरिरहन्थे । मलाई अझै याद छ एकजना साथीको बुवाको अन्तिम संस्कारमा पुगेको बेला चौधरीले मलाई भनेका थिए ‘मरने के बाद जो सदाके लिए मर जाए वैसी जिन्दगी किस काम का ? मौत तो ऐसा होना चाहिए, जो दुनिया मरने के बाद भी याद करे ।’ चौधरी अब हामीबीच रहेनन्, तर दुनियाले उनलाई याद राख्नेछ ।

संजय चौधरीसँगको मेरो पहिलो भेट संविधान सभाको दोस्रो चुनावको चुनावी अभियानका क्रममा भएको थियो । एउटा छलफल कार्यक्रममा देहरादुनमा आमसंचारमा स्नातकोत्तर गर्दा भारतको लोकसभा चुनावमा नरेन्द्र मोदीको चुनावि प्रचार प्रसारबाट प्रभावित भएकोले नेता संजय सिंहलाई मैले त्यस्तै प्रचार शैली अपनाउन धेरै सुझावहरू दिएको थिएँ । तर ती सुझावहरू नेपाली चुनावी अभियानमा सान्दर्भिक मानिएनन् । त्यसैले नेता सिंहका टोलीका एक जना युवा सिंहलाई पटक पटक छलफल छोट्याउन संकेत गरिरहेका थिए । लागिरहेको थियो, त्यो छलफल उनको लागि पट्यार लाग्दो थियो अथवा उनले बुझिसकेका थिए कि काठमाण्डौ बसेर पढेका युवाहरू ठूला ठूला राजनीतिक गफ गर्न माहिर हुन्छन्, तर वास्तविक राजनीतिको मैदानमा उत्रिन भनेपछि विभिन्न बहाना बनाएर भाग्ने गर्छ । उनी थिए संजय चौधरी । संजय चौधरीसँगको मेरो पहिलो भेटमा समान्य परिचयमात्र भएपनि उनले मेरो बारेमा धेरै आकलन गरिसकेका थिए । त्यसैले होला उनले धेरै पछि सम्म पनि उनले मलाई शंकाको दृष्टिले मात्र हेरिरहे ।

Pravakar-sah
प्रभाकरप्रसाद साह

नेता सिंहसँगको पहिलो छलफलमा हामी युवाहरूले उनलाई सहयोग गर्ने भएपछि अर्को दिन हामी चारवटा मोटरसाइकलमा १० जना युवा नेता सिंहको घर बरमझिया एकाबिहानै पुग्यौँ । सँगै बसेर छलफल गर्ने निधो हाम्रो पहिलो छलफलमै भइसकेको थियो । चुनावी माहोलमा नेता सिंहको घर कार्यकर्ता र समर्थकहरूको भिडले भरिएको थियो । आफ्नो टोलीका केही साथीसहित नेता सिंहलगायत रामप्रसाद गिरी, चन्द्रकला महतो कोइरी, उपेन्द्र साह र संजय चौधरीसँग प्रचार प्रसार बारे अगामी योजना बनाउन छलफल सुरु गर्यौँ । धरातलीय राजनीति नबुझेकोले मेरा योजनाहरू पनि हावामा घर बनाउनेजस्तै थिए । भन्नुको मतलब मोदि स्टाइलको मेरो प्रचार योजना अशिक्षित जनताको बाहुल्य रहेको मधेशको लागि सान्दर्भिक थिएन, जुन मैले पछि मात्र बुझेँ ।

मैले सुझाएका योजनाहरू असान्दर्भिक भएको बुझिसकेको भएपनि कसैले कुनै प्रतिरोध गरेनन् । सायद उनीहरूले तत्कालको मेरो योजना काम नलाग्ने भएपनि भविष्य सोचेर मलाई प्रोत्साहन गरिरहे । तर संजय चौधरी चुप लागेनन् र मेरो योजनाको एक प्रतिशत पनि लागू गरेर देखाउन मलाई ठाडै चुनौती दिए । अरुले भविष्यको स्वार्थ देखेर मलाई प्रोत्साहन देखाएपनि चौधरीले त्यसरी सोचेनन् । उनी इमान्दार थिए, कर्मठ थिए र स्पष्ट वक्ता थिए । त्यसैले उनको त्यो चुनौती निस्वार्थ थियो । न मन्त्री बनेर रातो नीलो नम्बर प्लेटको नेपालको झण्डावाला गाडी चढ्ने महत्वकांक्षा, न सभासद नै बन्ने इच्छा । करिब ४० वर्षको चौधरीको एकमात्र सपना थियो — शिक्षित, समृद्ध र विकसित समाज ।
जुनसुकै राजनीतिक गफ होस्, संघीयताको वकालत गर्न नचुक्ने चौधरीले चुनावी अभियानभर नै अब जुनसुकै हालतमा पनि संघीयता ल्याउने भाषण गर्दै “अपन पुलिस, अपन सिडिओ, अपन सरकार आ अपन राज” को सपना बाँड्ने गर्थे । पछि मैले पनि उनको यो भनाइ आफ्नो भाषणमा समावेश गर्ने गर्थेँ । उनको भाषा मैले प्रयोग गर्न थालेपछि उनले मेरो अगाडि भाषण गर्नेले सबै चोरी गर्छन् भनेर ठट्टा गर्थे । एकदमै हक्की स्वभावका भएका कारण पार्टीभित्रका केही साथीहरूले उनलाई बैल (गोरु) भनेर पनि जिस्काउने गर्थे । व्यक्तिगत रूपमा जे भनेर जिस्काए पनि सहने उनी मधेश एवं नेपालविरुद्ध एक शब्द सुन्न सक्दैनथे ।

रामनवमीको समयमा जनकपुर भ्रमणमा आएका विहारका एकजना नेताले “तुम नेपालीओं का नेता भी तो हमारा इशारा पे चल्ता है” भन्दा चौधरीले “हम गरिब हैं, लेकिन आत्मस्वभिान के साथ जीते हैं । तुम लोगों को इज्जत करते हैं, वैसे तुम लोगों को भी हमारा गोर्खाली सेनाका पल्टन पाकिस्तान से बचा रहा है” भन्दै वैचारिक प्रतिवाद गरेका थिए । आत्मस्वाभिमानले ओतप्रोत उनी आत्मस्वभिमानकै लडाइँमा आहुति भए ।

चुनावी अभियानमा मधेशी नेताविरुद्ध बोल्ने अन्य पार्टीका कार्यकतासँग भिडिहाल्ने उनलाई सम्हाल्न कतिपटक हामीलाई पनि हम्मे हम्मे पथ्र्यो । झगडा पर्दा अन्य पार्टीका कार्यकर्ताले ज्यान मार्ने धम्की नै दिए पनि उनको अनुहारमा मृत्युको डर कहिले नै देखिएन । चुनावी अभियानमा प्रायःजसो रात्रिबास पनि हाम्रो सँगै हुन्थ्यो । धेरै समयसँगै बिताएकोले नेता सिंह, रामप्रसाद गिरी, उपेन्द्र साह, चौधरी र म एउटा परिवारकै सदस्य जस्तै भइसकेका थियौ । नेता सिंहलाई मैले अंकल भनेर सम्बोधन गर्थेँ भने रामप्रसाद गिरीलाई बाबा (करिब ७५ वर्षको भएकोले बाजे) र उपेन्द्रलाई मालिक भनेर सम्बोधन गर्थेँ ।

चौधरीलाई भने बुरहबा भैया (बुढा दाई) भनेर जिस्क्याउने गर्थेँ । उमेर ३८ भन्दा बढी भइसकेको भएपनि बिहे नगरेको चौधरीलाई हामी बुरहबा भैया भन्थ्यौँ । रात्रिबासको समयमा बिहेबारे चर्चा गर्दा उनले “मधेशको सेवा गर्न नै नपुगेकोले श्रीमतीको सेवाको भार कसरी लिनू” भनेर जवाफ फर्काउने गर्थे । मधेशप्रतिको त्यो सम्मान, निस्वार्थ भावना देखेर हामी निःशब्द हुन्थ्यौँ र शुभरात्री भन्दै चर्चा बन्द गथ्र्यौँ । गजेन्द्रनारायण सिंहकै अभियानबाट राजनीतिक यात्रा सुरु गरेका संजय चौधरी मधेशको हरेक आन्दोलनमा अग्रपंक्तिमा हुने गर्थे । मलाई सम्झना छ, उनले हरेक आन्दोलनमा मलाई र उपेन्द्रलाई बचेर, सर्तकता अपनाएर आन्दोलन गर्न, शासकको बन्दुकले कसैलाई नचिन्ने र कल्पना गरेको मधेश निमार्ण नगरी हामी मर्नु हुँदैन भन्ने गर्थे र हामीलाई आन्दोलनको अग्रपंक्तिबाट धकेलेर पछाडि लाने गर्थे ।

आफ्नै क्षमताले आफ्नो पार्टीको जिल्ला सदस्यसम्मको राजनीतिक यात्रा तय गरेका उनले क्षिरेश्वरनाथ नगरपालिकाको पार्टी प्रतिनिधि हुँदा पनि आफ्नो राम्रो छवि बचाइराखे । जिल्ला अथवा नगरपालिकाको प्रतिनिधि हुनु भनेको भ्रष्टाचार गर्ने र आर्थिक रूपमा मोटाउने अवसरजस्तो हुन्छ । स्वच्छ छवि र कर्मठ भएकै कारणले होला, उनी पार्टीको कुनै पनि नेतासँग निर्धक्क आफ्नो कुरा राख्थे भने कुनै पनि नेताको स्वार्थपूर्ण निर्णयमा भने औँला देखाएर कुरा गर्न पनि पछि पर्दैनथे । समानुपातिक सभासदको विषयमा आफ्नै पार्टीका राष्ट्रिय अध्यक्षसँग ठाडै असन्तुष्टि पोखेको मैले पनि देखेको छु । केन्द्रीय तहकै नेताले पनि बोल्न नसक्ने शैलीमा बोल्दा पनि अध्यक्ष क्रोधित हुन नसक्नुको कारण संजय चौधरीको इमान्दारी र मधेश प्रतिको लगानी नै थियो ।

त्यो सच्चा भाव र निस्वार्थ लगानी देखेर हरेक व्यक्ति उनको सामु नतमस्तक हुनु स्वाभाविकै हो । उनकी आमा भने उनी बाँचुञ्जेल कहिल्यै सन्तुष्ट नभएपनि उनको शहादतमा श्रद्धाञ्जली व्यक्त गर्न ओर्लेको जनसागरले बगाएको आँसु देखेर उनले पक्कै बुझ्ने छिन् कि उनले आाफ्नो कोखबाट मधेशको वीर सपूतलाई जन्म दिएकी थिइन् ।

प्रिय बुरहबा भैया, तपाईँबिना हामी र हाम्रो टिम अब अधुरो भएको छ । हामी एक्लो भएका छौँ । सबैभन्दा बढी त संजय अंकल, गिरी बाबा र बिभा अण्टी शोकमा डुब्नु भएको छ । हामी सबै शोकमा छौँ । तर बुरहबा भैया, हामी तपाईँको बलिदान खेर जान दिँदैनौँ । हाम्रो शोकलाई शक्तिमा परिणत गर्नेछौँ र तपाईँले कल्पना गरेको शिक्षित, समृद्ध र विकसित समाज बनाउने छौँ, तपाईको सपना पूरा गर्नेछौँ । हामी तपाईँलाई सदैव सम्झिरहने छौँ ….. शहीद संजय चौधरी अमर रहून् ।

तस्बिर : सहिद संजय चौधरीकी आमामा बीचमा आफ्न्तहरुबाट घेरिएकी – अमरेन्द्र यादव

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.