
हुलाकी न्यूज, काठमाडौं १४ साउन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय आफुहरुसँग सहयोग मागेको बताउँदै आफुहरुले ओलीलाई माफीसमेत नदिएको बताएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष महतोले प्रधानमन्त्री ओलीले गरेको गलती क्षमा योग्यसमेत नरहेकोले मधेशी जनताले माफीसमेत नदिने बताए ।
महतोले सरकारका विषयमा आफ्नो पार्टी सरकारमा नजाने दोहर्याएका छन् ।
शुक्रबार केही सञ्चार माध्यमहरुमा आएको समाचारप्रति दुःख व्यक्त गर्दै अध्यक्ष महताले भने,‘अरुको ठेगान छैन तर सदभावना पार्टी कुनै पनि हालतमा सरकारमा जाने छैन ।’
अध्यक्ष महतोले सरकारका विषयमा अहिले पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एक ढिक्का रहेको र माग पुरा नभएसम्म मोर्चाका घटकहरु सरकारमा नजाने बताए ।
महतोले प्रधानमन्त्री ओलीलाई आफुले बारम्बार चेतावनी दिदासमेत ओलीले बेवास्ता गरेकोले पदच्युक्त हुनु परेको दाबी गरे ।
महतोले भने,‘मैले ओली जीलाई बारम्बार भन्दै आएको थिए । तपाईले मधेशको माग पुरा गर्नु पर्छ होइन भने तपाईको अवस्था पनि राम्रो हुनेछैन । ओलीसँगको भेटमा मैले प्रष्टै भनेको थिए, तपाईले अति गर्नु भयो । तर ओली जीले मेरो कुरा सुन्नुभन्दा भ्रममा परेर मधेश शब्द नै सुन्न चाहेको थिएन । आज त्यही मधेश शब्दले उहाँलाई भुँईमा लम्पसार पारी दिएको छ । अस्तिसम्म हामीसँग गुहार माग्दै हुनुहुन्थ्यो तर हामीले सहयोग त के माफीसमेत दिएनौं ।’



