
रवीन्द्र यादव, नवलपरासी ११ साउन । करिब डेढ हप्तादेखि लगातार परेको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव झन्डै खतराको सूचक पार गरेको छ ।
नारायणी नदीको सतह ७ मीटर पुगेपछि बाढीको चेतावनी दिइएको छ । अहिले नारायणीमा पानीको सतह ८ दशमलव २ मिटर पुगिसकेको छ । नदिको सतह ७ मीटर पुगेपछि बाढीको चेतावनी दिने गरिन्छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाका अनुसार नदीको सतह खतरासम्म पुगेकाले नदी किनार आसपासमा साइरन बजाइएको र बाक्लो सुरक्षाकर्मी खटाइएको बताएका छन् ।
नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका १३ गाउँ विकास समितिहरु बाढीको जोखिममा रहेका छन् । जस्तै नर्सही, कुडिया, पक्लिहवा, गुठी परसौनी, प्रतापपुर, गुठी सुर्यपुरा लगायतका गाउँ विकास समितिहरु रहेका छन् ।
यसैबीच नवलपरासीमा विभिन्न स्थानमा नदी तथा खोलाको वहाव बढेपछि बाढी तथा कटान भएको छ । यसैगरी झरही खोलामा आएको बाढीले रामग्राम नगरपालिकाको परासी क्षेत्रमा धान खेती नष्ट गरेको छ ।
त्यस्तै, जिल्लाको रामपुर खडौना, भुजहवा, रमपुरवा, ठुलो खरेटवा, सोमनी लगायतको दुई दर्जन गाविसको सयौं विगहा रोपिएको धान डुबानमा परेको छ ।
यसैगरी, जिल्लाको पहाडी क्षेत्र गैडाकोट कावासोती, नवलपुर, वेनीमणीपुर, पिठौली लगायतका सयौ विगहा जमिन कटान गर्नुको साथै त्यसमा लगाइएको धानबाली नष्ट गरेको छ ।



