upendra yadava
हुलाकी न्यूज, काठमाडौं १० साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान टालटुल पारेर काम चलाउन मिल्ने खालको नभएकोले पुनर्लेखन गर्नैपर्ने बताएका छन् ।

फोरम नेपालको प्रथम केन्द्रीय परिषद्को बैठक काठमाडौंको खुशिबुस्थित नेपाः ब्याङ्क्वेटमा सोमबार उद्घाटन गर्दै उनले भने, ‘प्रादेशिक स्वायत्ता, त्यहाँका वासिन्दाहरूको स्वशासन र आत्म निर्णयको अधिकार, समानुपातिक समावेसी प्रतिनिधित्वको व्यवस्था अहिलेको संविधानमा छैन ।’

यादवले भने, ‘संघीय संरचनामा पनि एकीकृत र केन्द्रिकृत न्यायालयको व्यवस्था, बहुराष्ट्रिय राज्यलाई स्विकार गर्न नसक्नु लगायतका थुप्रै प्रावधानहरू विभेदकारी छन् ।’ अहिलेको संविधान एकल जातीय र नश्लीय रहेको समेत यादवले प्रष्टाए ।

‘जसरी नेपालको लोकतन्त्र सम्भ्रान्त वर्गको खेलौना भएको छ त्यसरी नै नेपालको संविधानमा पनि एकल जातीय प्रभुत्वलाई निरन्तरता दिने र मधेशी जनजाति, महिला, शिल्पी, खस, उत्पीडित समुदाय र श्रमजिवी वर्गमाथिको विभेद, असमानता र उत्पीडनलाई कायम राख्ने उद्देश्यले अगाडि सारिएको छ,’ उनले भने ।

संघीय गठबन्धनको संयोजक समेत रहेका नेता यादवले भने, ‘समानता, न्याय, अधिकार र पहिचानको आन्दोलनले लामो समयदेखि विभिन्न चरणहरू पार गरेको छ ।

आगामी दिनहरूमा पनि संघर्षका कार्यक्रमहरूलाई अझ सशक्त र व्यवस्थित ढंगले अगाडि बढाउनु पर्छ र संविधान पुनर्लेखन गर्नैपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.