
हुलाकी न्यूज, सप्तरी ९ साउन । लगातारको वर्षाका कारण तराई–मधेशका विभिन्न स्थानहरु डुबानमा परेका छन् ।
बाढीका कारणका सुनसरी, सप्तरी, मोरङ, रौतहट, दाङ, झापा लगायतका सर्वसाधारणहरुको जनजीवन कष्टकर भएको छ ।
शुक्रबारदेखिको अविरल वर्षासँगै जिल्लाका तीनवटा खोलामा आएको बाढीले सप्तरीका विभिन्न १३ वटा गाउँ–टोलका झन्डै दुई हजार घर डुबानमा परेका छन् ।
सदरमुकाम राजविराजका वडा नम्बर ५ र ८ मा पनि वर्षाको पानी निकास हुन नसकेर ८० वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
खाँडो खोलामा आएको बाढीले तिलाठी र सकरपुराका झन्डै ७ सय घर डुबानमा परेका छन् । सोही खोलाको बाढीले देउरी भरुवाका सय, तोपाका सय, कजौलीका सय, रम्पुरा मल्हनियाँका ८५ र कोइलाडीका ५५ घर डुबानमा परेका छन् ।
सप्तरीको दिघुवास्थित मुसहर बस्तीमा खाँडो खोलाको बाढी पस्दा सय घर डुबानमा परेको स्थानीयले जानकारी गराएका छन् ।
कोसीको बहाव यस वर्षकै उच्च भएपछि कोसी ब्यारेजका ५२ ढोकामध्ये ३२ ढोका खोलिएको छ ।



