
हुलाकी न्यूज, काठमाडौं ७ साउन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालको तेस्रो केन्द्रीय समिति बैठक आजदेखि शुरु भएको छ ।
काठमाडौको शान्तिनगरस्थित ओम शान्ति पार्टी प्यालेसमा दुई दिनसम्म चल्ने बैठकमा प्रतिगामी संविधान जारी भएको असोज ३ लाई कालो दिन, नेपालको संविधान यथास्थिति र प्रतिगमनको दस्तावेज, व्यवस्थापिका–संसदमा पार्टीको भूमिका, विनाशकारी भूकम्पपछि पार्टीको भूमिकालगायत विषयहरुमा छलफल भइरहेको बताइएको छ ।
आन्दोलनरत संघीय गठबन्धनको प्रमुख घटक ससफो नेपालको केन्द्रीय समिति बैठकमा सहभागी हुन विभिन्न जिल्ला र क्षेत्रहरुबाट केन्द्रीय नेताहरु काठमाडौं आएका छन् ।
बैठकमा संघीय गठबन्धन नेतृत्वको आन्दोलन, सरकारी रवैया र अविश्वासको प्रस्तावमा पार्टीको भूमिका लगायतका समयसामयिक विषयहरुमा छलफल भइरहेको बताइएको छ ।
तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनका साथै विभिन्न निकाय, विभाग र समितिहरुको प्रतिवेदनहरु प्रस्तुत गरिने छन् ।



