
गोविन्द महतो, जनकपुरधाम ६ साउन । धनुषा जिल्लाको खेती योग्य जमिन मध्ये जम्मा ५५ प्रतिशतमा धान रोपाई सम्पन्न भएको छ ।
६५ हजार हेक्टरभन्दा बढि धान खेतीयोग्य जग्गामध्ये ३५ हजार ७ सय हेक्टर जग्गामा धान रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ। कार्यालयका अनुसार ७५ प्रतिशतभन्दा बढि आकाशे पानीको भरमा खेती हुने गरेको धनुषामा अहिले दैनिक २ हजार हेक्टर जग्गामा धान रोपाई भइरहेको छ। पाँच दिन यता दिनहुँ पानी परेका कारण किसानहरुलाई धान रोपाईको चटारो रहेको देउरीका रामकिसुन मण्डलले बताए।
असार महिनाको सुरुवातसँगै पानी पर्न थालेपछि समयमै धान रोप्न किसानहरू व्यस्त रहेका छन्। जलवायु परिवर्तन र चुरे वन विनासका कारण कम पानी परेकाले ७ वर्ष पछि यो वर्ष समयमै धान रोपाई भएको कृषि विकास कार्यालयका सुचना अधिकृत सुरेन्द्र गोईतको दाबी रहेको छ। नहरहरुमा पनि पानी आउन थालेको र यसरी नै आवश्यकता अनुसार पानी पर्ने क्रम जारी रहे शत प्रतिशत खेतमा धान रोपाई हुने गोईतको अनुमान रहेको छ।
उतरी धनुषामा ८० प्रतिशत रोपाई सम्पन्न भईसकेको छ भने पानीको अभावमा पुर्वी धनुषाको बल्हासघारा, खजुरी ,महुवा, पतनुका, कठहाल लगायत मध्य धनुषाको मखनाहा सहितका गाविसहरुमा २५ देखि ३० प्रतिशत मात्र धान रोपाई भएको गोईतको भनाई छ।
थाहाखबरका अनुसार पानीको अभावमा गत वर्ष ५६ हजार ३ सय हेक्टर जग्गामा रोपाई भएपनि १ लाख ४६ हजार मेट्रिकटन मात्र धान उत्पादन भएको थियो। कुल धान खेतीयोग्य ६५ हजार हेक्टर जग्गामध्ये १९ हजार हेक्टरमा मात्र सिँचाईको सुविधा रहेको बताईएको छ।



