
हुलाकी न्यूज, रुपन्देही ६ साउन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतका दश जना कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले साधारण तारिखमा रिहा गरेको छ । बाँकी दश जना कार्यकर्तामाथि हालसम्म सार्वजनिक अपराधको मुद्दा कायम रहेको छ ।
जेठ आठ गते बुद्ध जयन्तीका दिन लुम्बिनीबाट पक्राउ परेका डा.राउतका कार्यकर्ताहरुलाई जेठ २० गते पुनरावेदन अदालत बुटबलले सफाई दिएको थियो । तर पनि जेठ ३१ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीले २० जना कार्यकर्तामाथि सार्वजनिक अपराधको मुद्दा दायर गरेको थियो ।
सोही मुद्दामा बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १० जना कार्यकर्ताहरुलाई साधारण तारिखमा रिहा गरेको जनाउँदै भदौ एक गते पुनः उपस्थित हुन निर्देशन दिएको छ ।
बाँकी दश जनामाथि हालसम्म मुद्दा कायम रहेको गठबन्धनका रुपन्देही संयोजक भुपेन्द्र यादवले हुलाकी न्यूजलाई बताए ।
यादवले प्रमुख जिल्ला अधिकारीको काम कर्तव्यप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् ।
साधारण तारिखमा रिहा हुनेहरुमा जिल्ला संयोजक भोपेन्द्र यादव, दिलिप यादव, अब्दुल खाँन, लिला पाल, राम भवन हरिजन, योगन्द्र चौधरी, जितेन्द्र चौधरी, मनोज यादव, शिवचरन केवट, ईरफान खानलगायतका छन् ।




