nawalparasi
सरु शर्मा, परासी ४ साउन । आर्थिक वर्ष ०७२/०७३ मा नवलपरासीमा ३६ करोड, ९३ लाख २८ हजार ४ सय १९ रुपैयाँ फ्रिज भएको छ भने राजस्व संकलन ३८ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक वर्ष ०७२/०७३ मा जिल्लाका लागि बिनियोजित बजेट ४ अर्ब ९२ करोड १२ लाख ५ हजार ७ सय ५ रुपैयाँ बजेट मध्ये ४ अर्ब ५५ करोड १८ लाख ७७ हजार २ सय ८६ रुपैयाँको कारोबार भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपरासीका प्रमुख महेन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

प्रारम्भिक तथ्याँक अनुसार कुल रकमबाट चालु तर्फका लागि ४ अर्ब २० करोड २८ लाख ७३ हजार ६ सय ७३ रुपैयाँ बिनियोजित भएकोमा जम्मा रु ३ अर्ब ९७ करोड ५४ लाख ९१ हजार ९ सय ३० खर्च भएको उनले बताए ।

यस्तै, पुँजीगत तर्फका लागि बिनियोजीत बजेटमा ७१ करोड ८३ लाख ३२ हजार ३२ रुपैयाँ मध्ये जम्मा ५७ करोड ६३ लाख ८५ हजार ३ सय ५६ रुपैयाँ खर्च भएको प्रमुख भण्डारीले बताए ।

उनका अनुसार चालु तर्फ ५.४१ प्रतिशत बजेट फ्रिज भएको छ भने पुँजीगत तर्फ १९.७६ प्रतिशत रकम फ्रिज भएको छ ।

पुँजिगत तर्फ ठूला ठूला आर्थिक कारोबार गर्ने कार्यालयहरुले बिनियोजन बजेट खर्च गर्न नसक्दा बढी रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपरासीका प्रमुख भण्डारीले बताए । तर, केही रकमको चेक साट्न बाँकी रहेकाले पनि त्यति बजेट फ्रिज भएको देखिएको उनले बताए ।

गत आर्थिक वर्ष ०७१/०७२ मा कुल बियोजन बजेटमध्ये चालु तर्फ छुट्याईएको बजेट ९५ प्रतिशतले खर्च भएको थियो भने यस आवमा पनि करिव ९५ प्रतिशत नै खर्च भएको कोष तथा लखा नियन्त्रक कार्यालय नवलपरासीले जनाएको छ भने गत आ.व. मा पुजिँगत तर्फ ८२ प्रतिशत खर्च भएकोमा यस आ. व. मा ८०.२४ प्रतिशत खर्च भएको छ ।

राजस्व संकलनमा बृद्धि
यस वर्ष नवलपरासी जिल्लामा ८३ करोड ४३ लाख २८ हजार ४४ रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष ६० करोड १२ लाख ७३ हजार ३ सय ३८ रुपैयाँ राजस्व संकलन भएको थियो ।

हाल विगतको तुलनामा ३८ प्रतिशतले राजस्व संकलनमा बृद्धि भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवपलरासीका कोष नियन्त्रक दिपक पौडेलले जानकारी दिए ।

सरकारी कार्यालयको राजस्व संकलन हुने राष्ट्रिय वाणिज्य बैंक परासी शाखामा ५० करोड ७० लाख ४ हजार ६ सय ५३ रुपैयाँ राजस्व संकलन भएको छ भेन राष्ट्रिय वाण्ज्यि बैंक कावासोती शाखामा ३२ करोड ७३ लाख २३ हजार ३ सय ९० रुपैयाँ संकलन भएको कोष नियन्त्रक पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.