
राष्ट्रिय समाचार समिति, महोत्तरी ४ साउन । बिहानको छाक टरे बेलुका कसरी टार्ने भन्ने टुङ्गो नभएका महोत्तरीको बर्दिवास–२ को दलित समुदायको मुसहर बस्तीका किशोरकिशोरीले अहिले परोपकारी कार्यमा चासो देखाएका छन् ।
सम्पत्ति भनेकै आप्mनो पाखुरीमात्र रहेका मुसहर समुदायका किशोरकिशोरीले बनीबुतो (मजदुरी)गरेर प्राप्त भएको रकम सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि हास्य कलाकार धुर्मुस र सुन्तलीले बनाउन लागेका आवास क्षेत्रको सहयोगका लागि छुट्याएर परोपकारी काममा चासो देखाएका हुन् ।
हास्य कलाकारद्वय धुर्मुस र सुन्तलीकै प्रेरणाले पढ्नु पर्छ भन्ने आखा खुलेको बताउने मुसहर किशोरकिशोरीले आप्mना बस्तीका १० वर्षदेखि १९ वर्ष उमेर समूहलाई सङ्गठित गरेर नवयुग बाल क्लब नै गठन गरेर सहयोग सङ्कलन अभियान जारी राखेका छन् ।
धुर्मुस सुन्तली एकीकृत बस्ती पुनःनिर्माण सहयोग समितिका लागि १५ दिनकै प्रयत्नले असारमसान्तसम्म रु १५ हजार सङ्कलन भइसकेको नवयुग बाल क्लबकी अध्यक्ष १५ वर्षीया किशोरी अञ्जली सादा मुसहरले बताइन् । अब साउन १५ सम्म सङ्कलन हुने रकम पहिलो पटक धुर्मुस सुन्तली फाउन्डेसनमा पठाइने र त्यसपछि पनि सहयोगको कार्य जारी राखिने अञ्जलीको भनाइ छ ।
घरमा सम्पत्ति देखाउने कुरा केही नभए पनि धुर्मुस सुन्तलीको अभियानलाई सघाउन आफूहरूले थप काम गरेर आर्जन गरेको पारिश्रमिकको रकम छुट्याउने गरिएको मुसहर किशोरकिशोरीको भनाइ छ ।
सुरुमा रकम जुटाउन वनमा सुकेका भिक्रा र दाउरा ल्याएर बेच्ने गरिएको भए पनि पछिल्ला दिनमा सघन वर्षा बढेकाले वनक्षेत्रमा सर्पको बिगबिगी र लामखुट्टेको टोकाइ बढेसँगै भिक्रा दाउरा पनि पानीले भिजेकाले अन्य वैकल्पिक काम थालिएको सो बस्तीका एक्ला एसएलसी उत्तीर्ण गरेका १९ वर्षीय किशोर मञ्जय सादाले बताउनुभयो । अहिले मुसहर किशोरकिशोरीले रकम आर्जन गर्न बालुवा सङ्कलन, गिट्टी कुट्ने र बर्दिवास नगरक्षेत्रमा पर्ने राजमार्ग सरसफाइ गर्ने काम रोजेका छन् । राजमार्ग सरसफाइ गर्दा आप्mनो ठाउ सफा हुने र पारिश्रमिक पनि पाइने भएपछि आप्mना बस्तीका नानीहरूले यो काम मन पराउने गरेका सो बस्तीकी अगुवा ५० वर्षीया मानकी सादाले बताउनुभयो ।
गत हिउँदमा राजमार्ग क्षेत्रको सरसफाइ अभियानका लागि बर्दिवास आएका हाँस्य कलाकार धुर्मुस र सुन्तली आप्mनो बस्तीमा आएर भेटघाट गरेका र न्यानो माया देखाएका आफूहरूलाई ताजै रहेको बस्तीका दलित बताउछन् । नानीहरूलाई पढ्न पठाउन अभिप्रेरित गर्नसँगै जाडोले कक्रिएर भोकभोकै बस्नुपरेका बेला आप्mना बस्तीका ५० घरपरिवारलाई खाद्यान्न र ओढ्ने ओछ्याउनको प्रबन्ध गरिदिने धुर्मुस सुन्तली मनकारी भएकाले नै उनीहरूको परोपकारी अभियानमा साथ देखाउन बस्तीका किशोरकिशोरी लागेका मानकीको भनाइ छ ।



