अंकुश श्री, कपिलवस्तु १ साउन । स्थानीय निकायलाई जबाफदेही बनाउन गौतम बुद्ध सामुदायिक युवा क्लबले विद्यानगर गाविसको सार्वजनिक सुनुवाई तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।
गाविस विद्यानगरको सहयोगमा आयोजित कार्यक्रमको अध्यक्षता क्लबका संयोजक बलवन्त गुप्ता तथा प्रमुख अतिथ्यता सदभावना पार्टीका केन्द्रीय सदस्य रविदत्त मिश्रले ग्रहण गरेका थिए ।
सामाजिक परिचालक दिनेश चौधरीको संचालनमा शुरु भएको सुनुवाई कार्यक्रममा स्थानीय सर्वसाधारणले गाविस तथा उपस्वास्थ्य चौकीले दिदै आएको सेवामाथि गुनासो पोखेका थिए ।
जवाफमा सचिव विजय कुमार ठाकुरले सेवाग्राहीलाई अझ सन्तुष्ट पार्न आवश्यक कदम चाल्ने प्रतिबद्धता गरे ।
गाविसद्वारा १५जना दलित ज्येष्ठ तथा १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको उक्त कार्यक्रममा युनाइटेड युथ नेटवर्कका अध्यक्ष अमर पौडेल, हिपाल चतुर्वेदी लगायत विभिन्न युवा क्लबका संयोजक, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।



