हुलाकी न्यूज, बिराटनगर, ३० भदौ । बिराटनगरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोध कार्यक्रम हुने भएपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । बिराटनगर प्रवेश गर्ने सर्वसाधारणको खानतलासी लिइँदै छ । खानतलासी बिना कसैलाई पनि सहरमा प्रवेश गर्न दिइएको छैन ।

बिराटनगर प्रवेश गर्ने बरगाछी, घिनाघाट, रानी, कटहरी नाकामा बुधबार बिहानैदेखि सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
बुधबार बिराटनगरमा मधेशी मोर्चासँगै राजवंशी समुदायको पनि जुलुस तथा सभा गर्ने कार्यक्रम रहेको छ । बिराटनगरमा राजधानी कायम हुनुपर्ने माग राख्दै राजवंशी समुदायले जुलुस निकाल्न लागेको हो ।

यता, जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी प्रवक्ता प्रमोदकुमार खरेलले मोर्चालाई लाठी जुलुस ननिकाल्न चेतावनी दिएका छन् । उनले लाठी जुलुसको ठाउँमा झण्डा जुलुस निकाल्न आग्रह गर्दै लाठी जुलुस निकालिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

मधेशी मोर्चाले भने जुलुसको तयारी गरिरहेको जनाउँदै कार्यक्रम सफल गर्ने बताएको छ । संघीय समाजवादी फोरम मोरङ्गका अध्यक्ष राजकुमार यादवले मोर्चाको पूर्व निर्धारित कार्यक्रमलाई प्रहरीले दमन गर्न खोजेको बताउँदै पछि नहट्ने चेतावनी दिए ।

मधेशी मोर्चाको कार्यक्रमका लागि बिहानैदेखि गाउँगाउँबाट प्रदर्शनकारीहरु बिराटनगर आइरहेका छन् ।

तस्विर : अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.