Suruchi_chaudhry_sicalcellबीपी साह, काठमाडौं ३० असार । १७ वर्षीया सुरुची चौधरी टिकापुर बहुमुखी क्याम्पसको कक्षा १२ मा पढ्छिन् । असार ९ गतेदेखि काठमाडौंको सिभिल हस्पिटलको आईसीयूमा भर्ना भएकी उनलाई २९ गते जेनरल वार्डमा सारिएको छ ।

सुरुचीलाई जिवित राख्न दैनिक दुईदेखि तीन पोका रगत दिइन्छ । र, दैनिक दशदेखि १५ हजारको औषधि खुवाईन्छ । मंगलबारबाट उनी बोल्ने अवस्थामा आएकी छन् । आफ्नो मृत्यु केही दिनमै हुने उनले आँकलन गरेकी छन् । अहिलेसम्म उपचारमा लाखौं रुपौंया खर्च भइसकेको छ । अझै कति पैसा लाग्ने भन्ने अनुमानसमेत गर्न सकिएको छैन ।

कैलाली टिकापुर ८ बन्दीपुरका नैनबहादुर चौधरी र कलैया देवी चौधरीकी छोरी सुरुची केही महिनाअघिदेखि विरामी पर्दै आएकी थिइन । तर असार ४ गते सुरुची अचेत भएपछि टिकापुर अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपालगंज रेफर गरियो ।

६ गते उनको रगत परिक्षणको रिपोर्ट आयो र रिपार्टमा उनलाई सिकल सेल भएको उल्लेख थियो । लगतै नेपालगंजबाट उनलाई काठमाडौंको सिभिल हस्पिटलमा पठाइयो । शरिरका सम्पूर्ण अंकहरु नचल्ने अवस्था पुगेकी सुरुचीलाई आईसीयुमा भर्ना गरियो ।

कस्तो विडम्बना, छोरी विरामी हुनभन्दा तीन दिन पहिले अर्थात असार १ गते उनका बुबा नैनबहादुर चौधरी बैदेशिक रोजगारका लागि दुवई उडे । यता छोरी विरामी परे । अहिले उनको उपचारमा एक्लै आमा र एक जना आफन्त छन् । डाक्टहरुले उनका सम्पूर्ण परिवारको रगत परिक्षण गर्न आग्रह गरेका छन् । उनको परिवारमा कुल ११ जना छन् ।

सुरुचीकी आमा कलैया देवीले भन्नि,‘घर परिवारमा रहेको सम्पूर्ण पैसा र सरसापट गरेर एक लाखभन्दा बढी पहिले नै खर्च भइसकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको एक लाख रुपौंयामा आज(विहीबार)सम्म पाँच–छ हजार मात्र बाँकी छ । त्यो पनि आजै सकिनेछ । अस्पतालले विभिन्न टेस्टहरु गरेको छ त्यसको पैसा तिर्नै बाँकी छ ।’

सिकल सेलका विरामीलाई निःशुल्क उपचार गर्ने घोषणा नेपाल सरकारले गरे पनि अहिलेसम्म कार्यन्वयन हुन नसकेको सिभिल अस्पताल सिकल सेल सम्बन्धी डाक्टहरु बताउँछन् । सुरुचीका आफ्तहरु निःशुल्क उपचारका लागि विभिन्न ठाउँमा धाएपनि कुनै व्यवस्था भएको छैन ।

वर्तमान स्वास्थ्य मन्त्री रामजनम चौधरी त्यही क्षेत्रको भएपनि आफुहरुले बारम्बार भेट्ने प्रसाय गर्दासमेत भेट नभएको सुरुचीका काका बताउँछन् । स्वास्थ्य मन्त्रीले सहयोग गरेको खण्डमा उपचारमा लाग्ने खर्च सरकारबाट व्यवस्था हुन सक्ने उनी बताउँछन् तर मन्त्रीले आफुहरुको कुरा नै सुन्न नचाहेको उनले आरोप लगाए ।

हाल सिभिल अस्पतालको कोठा नम्बर ३०६ को बेड नम्बर ११६ मा रहेकी सुरुचीको उपचारमा सहयोगका लागि पहल गर्न उनका परिवारले हुलाकी न्यूजलाई आग्रह गरे । अस्पतालमा रहेको उनका परिवारलाई सहयोग गर्नका लागि उनको काकाको नम्बर ९८४९५११५९१ मा सम्पर्क गर्न सकिनेछ । अथवा हुलाकी न्यूजमार्फत पनि सहयोग गर्न सकिनेछ ।

1 COMMENT

  1. बर्षाैं देखि कमैया र कमलहरिकाे दासी जीवन जिउन बाध्य्य हजारौं थारूहरू लाई अब अर्को पिडा थपिएको छ उता नेपाल सरकार चाहिँ कानमा तेल हालेर सुतेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.