
हुलाकी न्यूज, काठमाडौं २८ असार । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सातबुँदे सहमति भएको छ ।
कांग्रेस–माओवादीबीच भएको सातबुँदे सहमति पत्रको प्रथम बुँदामा मधेश आन्दोलनमा उठेका मागहरुलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकन लगायतका मागहरु सम्बोधन गर्न संविधानमा आवश्यक सम्बोधन गरी संविधानको सर्वस्वीकार्यताका लागि राजनीतिक सहमतिको वातावरण बनाउने उल्लेख गरिएको छ ।
दोस्रो बुँदामा, नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनका लागि आवश्यक नीति, संरचना र कानूनी व्यवस्था गर्ने उल्लेख छ ।
यसैगरी, देशमा शान्ति, सुरक्षा र सुशासनको प्रत्याभूति गर्न कालोबजारी, कृत्रिम अभाव, महँगी अन्त गरी दैनिक उपभोगका सामग्री सहज उपलब्ध हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।
कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार निर्माणका लागि एक सहमतिपत्रमा कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।



