हुलाकी न्यूज, काठमाडौं, ३० भदौ । विवेकशील नेपाली दलले अंक गणितको आधारमा जारी गरिएको संविधानले सबै नेपालीको भावना र मर्मलाई समेट्न नसक्ने भएकाले सबै नेपालीको आत्मसम्मानको कदर गर्दै संविधानमा तिनका जायज माग समेट्न माग गरेको छ ।

जारी मधेश आन्दोलनका सम्बन्धमा वक्तव्य मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विवेकशील नेपालीले मधेशीले आत्मसम्मानका लागि आन्दोलन गरिरहेकाले उनीहरुको माग सम्बोधन गर्नुपर्ने ठहर गरेको छ । उसले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीलाई मधेशीका जायज माग तत्काल सम्बोधन गर्न आग्रह गरेको हो ।

राजनीतिक समस्याको समाधान बन्दुक नहुने भन्दै दलले हिजोको दिनमा आफै युद्धमा रहेको शक्तिले पनि आज बन्दुकबाट दमन गरेर समस्या समाधान गर्न खोज्नु अपराध भएको बताएको छ ।

मधेशमा जारी आन्दोलन प्रदेशको सीमांकन भन्दा बढी मधेशवासीको आत्मसम्मान र अस्तित्वको आन्दोलन भएको बताउँदै यसलाई अस्वीकार गरेर नेपाल अगाडि बढ्न नसक्ने ठहर गरेको छ । मधेशीको आत्म सम्मानको माग वैध रहेको बताउँदै विवेकशील नेपालीले कसैको आत्मसम्मानमा चोट पुर्याउनेलाई कानुनको दायरामा ल्याउनु पर्ने माग गरेको छ ।

उसले राजनीतिक सम्झौता गर्ने र रद्दीको टोकरीमा फाल्ने सरकारको नीतिका कारण तीन दलको नेतृत्वप्रति जनविश्वास मेटिएको र अराजकता बढेको टिप्पणी गरेको छ । विवेकशील नेपालीले सरकारले जनताविरुद्ध प्रहरी उतारेर प्रहरीसँग पनि अन्याय गरेको ठहर गरेको छ ।

जारी समस्याको समाधानको पहिलो कदमस्वरुप राजनीतिक दलहरुले विगतमा गरेका गल्ती, भेदभावका लागि सार्वजनिक क्षमायाचना गर्नुपर्ने विवेकशील नेपालीको सुझाव छ ।

उसले पहिचानको एक मात्र आधार जातियता नहुने भन्दै स्वतः आर्जित पहिचान पनि महत्वपूर्ण हुने टिप्पणी गरेको छ ।

विवेकशील नेपालीले विगत १ महिनादेखि मधेशमा जारी आन्दोलनमा ज्यान गुमाएका सुरक्षाकर्मी सहित सबै नेपाली नागरिकप्रति समवेदना प्रकट गर्दै शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेको छ । साथै उसले अब उपरान्त यस्ता अमानवीय घटना दोहरिन नदिन आन्दोलनरत पक्ष तथा राज्य पक्षलाई अपिल पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.