Jyotshna_krantiज्योत्सना क्रान्ति

“माई गे हमरा आरो कुछो नई, खाली एगो दराज आ दु तोला सोनाके झुम्का बना दिहे हमरा वियाहमे कि ।”

माथिका पंक्तिहरु मिथिलाकी एक छोरीले आफ्नी आमालाई भनेकी हुन् । जो कि भर्खर १४ वर्ष पुगेर १५ वर्षमा लागेकी छिन् । तर, भर्खर १५ वर्ष प्रवेश गरेकै उमेरमा उसको आमा बुवाले उसको बिहे गरिदिन लागेका छन् । तैपनि ती बालिका आफ्नो बिहे भइरहेकोमा खुशी नै छिन् । किनभने उसलाई लाग्दैछ कि उसको बिहेमा पनि अरुको बिहेमा दिइएजस्तै सर–सामान (जस्तै : नयाँ लत्ताकपडा, दराज, फर्निचर, सुन–चाँदीको गरगहना उसलाई पनि दिइन्छ । यहि कुरा सोँचेर उनी खुशी छिन् ।

प्रसँग हो मधेशको एउटा गाउँको । जहाँ एक १५ वर्षकी केटीको बिहे करिब २५–२६ वर्षको केटासँग गर्न लागिएको छ । जुन केटीको मन आफूले सबथोक पाउने सोचेर खुशी छ किनभने उसलाई अहिलेसम्म बिहेको वास्तविक अर्थ नै थाहा छैन । उ त रमाउँदै छिन् आफ्नै खुशीमा । उसलाई आफ्नो भविष्यको अलिकति पनि चिन्ता र भय छैन । उ आफ्नो वर्तमानमै रमाइरहेकी छिन् । उसले आफ्नो भविष्य कस्तो हुने हो भनेर कल्पना समेत गरेकी छैन ।

त्यो बालिकालाई तिमी तिम्रो बिहे भइरहेकोमा खुशी छौं ? भनेर सोध्दा, “हँ हमरा बहुते निमन लगै हबे । पहिने त हमर बाबू हमरा बड मारै छल । आब त हम चइल जबै त हमरा केउ नइ मारतै । आ हमर माइ बाबू हमरा बियाहमे नयाँ कपरा, बक्स पलङ, दराज आ गहनासब सेहो देतै ।” उसले जवाब दिइन् ।

ती बालिकाले दिएको जवाबको आधारमा सोच्न र बुझ्न सकिन्छ कि उसको अर्थमा बिवाहको अर्थ नयाँ लुगा, दराज, सुन, चाँदी (जुन कि हाम्रो समाजमा केटीको परिवारले केटाको परिवार र आफ्नो छोरीलाई दाइजोको रुपमा दिइने चलन छ ।) त्यो मात्र हो ।

यति सानै उमेरमा पढेको भए हुन्थ्यो नि, किन नपढेको भनेर सोध्दा, “भाई बहिनसभके के देखतइ ? आ घरके कामसब सेहो त करए परतई नई त केना पढियई । भाई, बहिनसभ परहै हई । ३ गो बहिन सरकारी स्कूलमे परहै हई आ एगो भाइ हई तेकर नाम बोडिङ्ग स्कूलमे लिखा देने हई हमर बाबू ।” भनेर उसले जवाब फर्काइन् ।

यसै सन्दर्भमा छोरीको बिहे किन यति सानै उमेरमा गर्न लागेको भनेर उसको बाबू आमालाई प्रश्न गर्दा, “कथिला रखने रहियई ओतेटाके बेटीके घरमे ? वियाह क देबै त जतई अपना घर । आ अखनी त गामघरमे बेटी १५–१६ बरसके होई हई कि भाइग जाइ हई दोसर जाइत साथे । ओइस निमन होतइ न जे बियाह क देबै त रहतई अपना घरदुआर । एगो बेटी रहे तब न, चाइरगो बेटी हई धिरे–धिरे सबके जाइतके हात पकराबे परतई न । एगो बेटा हई उ अपन पढै हई ।” कस्तो अचम्मको सोँच अहिलेको युगमा पनि ।

प्रसँग हो बालविवाहको । २१औँ शताब्दीमा आएर पनि बालबिवाह र छोरा–छोरीमा भेदभाव जस्ता घटनाले ठाउँ पाई नै रहेको छ । हाम्रो समाजमा यो एउटा मात्र घटना होइन । यस्ता–यस्ता थुप्रै उदाहरणहरु छन् यस समाजमा । जुन समाजमा छोरीलाई पढाउनु भन्दा पनि घरको काममा सीमित राख्नु र सानै उमेरमा बिहे गरिदिनु उचित ठानिन्छ । जहाँ बालविवाहको विरुद्ध कानुन भएर पनि लागू हुन सकिरहेको छैन ।

किनभने यो हाम्रो समाजले बनाएको नियम हो । जहाँ एक १५ वर्षकी केटीको बिहे २६ वर्षका केटासँग गरिन्छ र सानै उमेरमा एक नाबालिक बच्चाको आमा बन्नु पर्दछ । घर सम्हाल्नूदेखि लिएर बच्चा सम्हाल्ने जिम्मेवारी समेत उठाउनु पर्दछ । एक नाबालिकाको संसार नै त्यतिमा सीमित हुन्छ । वास्तवमा त्यतिन्जेलसम्म ती केटी, केटी होइन बल्की अपूर्ण उमेरमा एक सम्पूर्ण महिला भइसकेको हुन्छ । त्यसैले आवश्यक छ राज्य र विभिन्न पक्षहरु मिलेर यस्ता घटनाहरु विरुद्ध पहलकदमी हुनुपर्ने ।

अब अलि फरक तर सम्बन्धित प्रसँगको कुरा गर्दा पैतृक सम्पतिमा छोरा–छोरीको अधिकारको कुरा गर्दा हाम्रो समाजमा धेरैले यसको विरोध गरेको देखिन्छ । गाउँघरतिर त छोराको अधिकारमाथि छोरीले हस्तक्षेप गर्न पाउँदैन भन्ने कुरा पनि सुन्ने गरिएको छ । तर नेपालको संविधानमा पनि पैतृक सम्पतिमा छोराको अधिकार भए जतिकै छोरीको पनि अधिकार हुन्छ भनिएको छ । तर पनि हाम्रो समाजमा छोरीलाई भन्दा छोरालाई पैतृक सम्पतिको उत्तराधिकारी मानिन्छ ।

यसै सन्दर्भमा एकजनासँग कुरा गर्दा, “छोरीलाई आधी सम्पति दिँदा त घाटा लाग्छ । बरु त्यसो गर्नु भन्दा राम्रो छ – सात रुपैँया लगाएर छोरीको बिहे गरिदियो त्यसपछि ढुक्क । बराबर सम्पति बाँड्नु भन्दा खर्च पनि कम हुन्छ । अनि परम्परादेखि नै चलिआएको छोराले पाउनु पर्ने अधिकार (सम्पति) छोरीलाई किन दिनुपर्यो ?” भन्ने धारणा थियो । आश्चर्य लाग्दो, अहिलेको युगमा पनि यस्ता सोचको व्यक्ति टन्नै रहेछन् ।

यहाँ कुरा आयो बालविवाह, छोरा र छोरीप्रति हुने भेदभाव र सानै उमेरमा कसैको घरको बुहारी बन्नु पर्ने जस्ता समाजको विकृतिहरुको । जहाँ छोरालाई स्कूल पठाइन्छ र छोरीलाई घरको काममा सीमित राखिन्छ । र छोरी १४–१५ वर्षको भयो कि बिहे गरेर पठाइन्छ । यस्ता प्रवृत्ति हेर्दा घृणा लागेर आउँछ आफ्नै समाजमाथि । आखिर कहिलेसम्म छोरी मान्छेले प्रत्येक क्षेत्रमा भेदभाव सहिरहने ? त्यसैले आवश्यक छ कि समाजका यस्ता विकृतिहरुको निराकरण होस् जहाँ लैङ्गिक भेदभाव अन्त्य होस् र सुन्दर समाजको निर्माण होस् ।

2 COMMENTS

  1. ज्योत्सना जी बधार्इ । लेख बहुत सान्दर्भिक अा वास्तविक अछि । अपना सभक समाज एखनाे धरि पुत्रमाेह प्रधान छै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.