indu tharu
इन्दु थारु ।
आमा हुन सजिलो छैन । आमा बन्नु मृत्युको नजिक पुग्नु हो । आमा बन्नुको अर्थ मृत्युलाई जित्नु हो । मृत्युलाई जित्नु सामान्य कुरा होइन । त्यसका लागि अदम्य साहास चाहिन्छ । त्यो साहास केवल एउटी आमामा मात्र निहीत हुन्छ । महिलाले बहन गर्ने विभिन्नथरीका भूमिकामध्ये सबैभन्दा सम्मानजनक भूमिका आमा नै हो । महिलाका लागि प्रयोग गरिने सबैभन्दा वजनदार शब्द पनि आमा नै हो । आमा धर्ती हुन्, आमा शृष्टि हुन् । आमा सौन्दर्य हुन्, आमा रहस्य हुन् । एउटै शरीरमा दुईटा ढुकढुकी जीवित राख्ने, आमा आश्चर्य हुन् ।

आमा हुन सजिलो छैन, त्यसमा पनि एउटी महिलालाई आमा हुन झनै गाह्रो बनाइदिन्छ हाम्रो समाजले । आमा हुनु सम्मानजनक त छ तर छोराको आमा हुनु जति सम्मानजनक छ, छोरीको आमा हुनु त्यतिनै अपमानजनक पनि । त्यसैले आमाहरु सम्मान पाउनका लागि छोराकै चाहना गर्छन् पनि । छोरो त पैतृक सम्पत्तिको हकदार पनि त हो नि । घरको (जनावरीय आमा) गाई भैँसीले पाडी जन्माउँदा, बाख्रीले पाठी जन्माउँदा मनभरी र अनुहारभरी खुसी बोक्नेहरु, मानवीय आमाले छोरी जन्माइन् भने धुरुधुरु रुन्छन् । अनि अर्को पटक त पक्कै छोरा जन्मिन्छ भनी चित्त बुझाउँछन् । मरेपछि कहिल्यै कसैले नदेखेको स्वर्ग जानका लागि भए पनि आमाले छोरा जन्माइदिनपर्ने हुन्छ ।

छोरा नजन्मेसम्म बच्चाहरु जन्माइरहनपर्ने आमा, अब आमा रहँदिनन, बच्चा उत्पादन गर्ने उनी मेशिन बन्छिन् । छोरा नजन्मेसम्म धेरै छोरीहरु जन्माइरहनुको पीडा ती आमाहरुसँग छुट्टै हुन्छ । यद्यपि छोरी जन्मनुमा एउटी आमाको भन्दा उनको विपरित लिंगी बढी जिम्मेवार हुन्छ । तर भोग्नपर्ने केवल आमाले । छोरो जन्मिए पनि ठूलो भएर छोराले राम्रो काम गरे, ऊ वीर पिताको छोरा कहलिन्छ, तर नराम्रो काम गरे रन्डीको छोरा कहलिन्छ । यदि केही गरी छोरो जन्मिएन भने अब आमाले आफ्नो भाग्य धिक्कार्दै सौता स्वीकार गर्नुपर्ने हुन्छ ।

आधुनिक जमानामा एक छोरा एक छोरीसहितको खुसी परिवारको नारा निकै लोकप्रिय छ । तर एक छोरा एक छोरी, बनाउने कसरी ? फेरि भोग्ने पालो आमाकै त हो । ठ्याक्कै एक छोरा एक छोरी बनाउनका लागि अधिकांश आमाहरुले पीडा भोग्न पर्छ । आमा हुन कहाँ स्वतन्त्रता छ र ? आमा हुन या नहुनका लागि निर्णय अरुकै चल्छ । गर्भ आमाको रहन्छ, शिशु जन्माउँदाको पीडा आमाले सहनुपर्छ तर पनि उनको केही चल्दैन । आमा कहिले बन्ने, कति बच्चाको आमा बन्ने, बच्चाबीचको ग्याप कति राख्ने, कुनै पनि कुरामा आमाको रत्तिभर पनि चल्दैन । आमा हुनु तर अरुको चाहानामा, कति दुःखद छ । दूरदराजका विकट क्षेत्रका बाह्रखरी नजान्ने आमाहरुले त पत्तो नै पाउँदैनन् उनको आफ्नो गर्भमा उनकै पूर्ण स्वतन्त्रता रहनपर्छ भन्ने कुरा ।

आमाको चाहना होस् या नहोस्, गर्भमा छोरी छ भनेर अर्को आमा बन्ने सम्भावना बोकेकी छोरीलाई यो दुनियामा आउनु पहिलेनै मारिन्छ । विवश र लाचार आमा आफ्नो श्रीमान र घरपरिवारको लागि सबैथोक चुपचाप सहेर बस्नुपर्ने हुन्छ, आफ्ना इच्छा चाहना सपना सबैको वेवास्ता गर्दै । र, पनि आमालाई विवश पार्ने पाखण्डी ढोंगीहरुले लक्ष्मी माता, सरस्वती माता, दुर्गा माताको पूजा गर्छन्, आफ्ना इच्छा आकांक्षा सपनाहरु पूरा होस् भनि ।

श्रीमान् बिनाको आामा हुने कुरा त कोही एउटी पनि महिलाले कल्पनासमेत गर्दिनन् होला हाम्रो जस्तो समाजमा । यदि कोही श्रीमान् बिनाको आमा (विवाहपूर्व) भइहाल्छिन् भने बुझ्नुपर्छ उनको विपरित लिंगीले धोखा दियो । श्रीमान् भएकी आमाले जति सम्मान पाउँछिन् यो समाजमा, श्रीमान् बिनाकी आमाले कैयौँ गुणा बढी अपमान पाउँछिन् । सम्भवत उनलाई श्रीमान् बिनाको आमा बन्नै दिइँदैन । कतिपय श्रीमान् बिनाका गर्भवती महिला आमा नै नबनी आत्महत्या गर्छन् । केही गरी आमा बनिहाले पनि ती आमाले भोग्ने अपमान, बेइज्जती, लान्छनाको कुनै सीमा हुँदैन । एक्ली आमा, एक्लैले बच्चालाई जन्म दिन्छिन्, एक्लैले बच्चाको स्याहार सुसार गर्न, हेरचाह गर्न सक्षम भए पनि, किन उनको ढोखेबाज विपरित लिंगी उनको साथमै रहनुपर्ने ? र, नहुँदा किन अपमान सहनपर्ने ? आमा त आमा हुन्, उही माया उही ममता उही क्षमता भएकी । फेरि किन एक्ली आमालाई दुनियाभरिको अपमान ।

आमा बन्नुमात्रै ठूलो कुरा होइन रहेछ । महत्वपूर्ण कुरा त सम्मानित आमा बन्नुरहेछ । सम्मानित आमा बन्नका लागि श्रीमान् हुनु पहिलो शर्त, हाम्रो जस्तो समाजमा । त्यतिले मात्रै पनि सम्मानित आमा हुन नसकिने, छोराकै आमा बन्न पर्यो । आमा हुन कठिन छ । त्यसै आमा बन्न सकिँदैन । आमा हुन यो समाजले निर्धारित गरिदिएका थुप्रै नीति नियम छन् । जति पनि नियम छन्, आमालाई उनको विपरित लिंगप्रति परनिर्भर बनाउने खालका छन् । आमालाई श्रीमान्को साथ हुनैपर्ने उनी जीवित रहेसम्म, आमाले छोरो जन्माउनै पर्ने, र यति गर्न नसके आमा केवल शब्दमा सम्मानित हुन्छिन् ।

आमा हुन गाह्रो छ, त्यसैगरी आमा हुन नसक्नु पनि गाह्रो छ । आमा हुन सक्नुभन्दा आमा हुन नसक्नु झनै बढी गाह्रो छ । महिला भएर जन्मिनु तर आमा हुन नसक्नु, कति दुखदायी होला । आमा हुन नसक्नुको पीडासहित नमरुन्जेलसम्म आलोचित भएर जीवन व्यतित गर्नुपर्ने । उब्जनी नहुने बाझो खेतसँग तुलना गर्दै असभ्य तरिकाले बाझी महिलाको उपमा दिइन्छ । अनि सभ्य भाषामाचाहिँ अपूर्ण महिला भनि । महिला भएर जन्मनु नै आफैँमा पूर्णता हो । बच्चा जन्माउन सक्नु या नसक्नु फरक कुरा ।

यहाँ त कमजोरी चाहे पुरुषकै होस्, बाझो हुनुको आरोप पनि महिलाले नै खेप्न पर्छ । बुझ्न नसकिएको कुरो, बच्चा जन्माउँदैमा मात्रै महिला कसरी पूर्ण हुन्छिन् ? के बच्चा पैदा गर्नका लागि मात्रै महिला यो धर्तीमा आउँछिन् ? हो आमा हुनसक्ने क्षमता केवल महिलामा मत्रै निहित रहन्छ तर आमा हुनु वा हुन सक्नुमात्रै महिला हुनुको सम्पूर्णतासँग जोडिनु बिल्कुलै गलत सोचको उपज हो ।

यदि आमा हुनुलाई मात्रै महिला हुनुको पूर्णतासँग जोड्ने हो भने ती महिलालाई कसरी आमा भनि सम्मान गर्ने जसले जन्म पश्चात आफ्नो शिशु ‘फोहोर मलाई’ लेखिएको फोहोर फाल्ने डब्बामा फोहोर जसरी फाल्छिन् या आफ्नै हातले घाँटी रेटी मार्छिन् । यसको ठीक विपरित केही विकसित मुलुकका केही महिला जो आामा हुन प्राकृतिकरुपमा क्षमतावान् हुन्छन् तर अनाथ बालबालिका एडप्ट गर्छन्, अनाथ बच्चालाई आफ्नै काखबाट जन्मिए बराबर नै माया ममता प्रदान गर्छन् ।

आमा हुनु गर्भधारण गर्नु र शिशु जन्माउनुमात्रै होइन । आमा हुनुलाई केवल महिलाको जैविक पक्षसँगमात्र जोडिनु हुँदैन । आमा हुनु जैविक पाटो त एउटा भयो नै, संगसंगै बढी महत्वपूर्ण पाटो आमाद्वारा प्राप्त हुने मातृत्व पनि हो । वास्तविक आमासँग मातृत्व जोडिएको हुन्छ । र मातृत्व भन्ने कुरा कुनै पनि महिलामा निहीत रहन सक्छ चाहे कुनै महिलामा गर्भ धारण गर्ने क्षमता होस् या नहोस् । त्यही अन्तरनिहीत मातृत्वका कारणले नै एउटी महिला अनाथ बच्चा एडप्ट गरेर आमा बन्न सक्छिन् ।

विश्वमा जति पनि प्रख्यात व्यक्तित्वहरु छन् या जो छैनन् पनि, कुनै न कुनै रुपमा आमाले प्रदान गर्ने मातृत्वकै कारण हो । आमा छिन् र त यो संसार छ । आमा छिन् र त प्रत्येक जीवित प्राणी यो संसारमा आउन पाएको छ । आमा शब्द त्यसै सम्मानित र वजनदार भएको होइन ।  साभार : थारुवान डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.