
हुलाकी न्यूज, काठमाडौं २४ असार । मधेश आन्दोलनमा भारतको हात नरहेको भारतीय जनता पार्टीका नेता विजय जोली स्पष्टीकरण दिएका छन् ।
नेता जोलीले सीमानाकामा मधेशीहरुले नै अवरोध गरेको गरेको बताउँदै यसकै आधारमा नेपालको मधेशको आन्दोलनमा भारतको हात भन्नु गलत रहेको बताए ।
उनले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा नभई काठमाडौमै भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालको संविधान नेपालीले नै बनाएका हुन । त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गरिरहेका छन् । नेपालको गतिरोधको साँचो दिल्लीमा होईन काठमाडौमै खोज्नु पर्छ ।’
जोलीले नेपालका दलहरुले राजनीतिक, सामाजिक, सहयोगको आधारमा काम गरेर नेपालमा राजनीतिक स्थायित्वका लागि प्रभावी कदम उठाउने अपेक्षा ब्यक्त गर्दै मधेशको समस्या वार्ता र संवादकै बाटोबाट समाधान गर्नु पर्ने धारणा राखे ।
उनले भने,‘ पहाड, मधेश जहाँ बसेपछि पहिला उनीहरु नेपाली हुन भन्ने हामी मान्छौ, त्यसैले नेपालको समस्या नेपालीले नै हल गर्नु पर्छ । भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दैन । सहकार्यमा विश्वास गर्छ र शसक्त, सुदृढ एवम प्रगतिशिल नेपाल हेर्न चाहन्छ ।’



