अर्कना खातुन, काठमाडौं २३ असार ।
नेपाल भरिका सम्पूर्ण मुस्लिम समुदायहरुले बुधबार साँझको चन्द्रमा हेरि बिहिबार आफ्नो परम्परा अनुसार हर्षोल्लासका साथ पवित्र पर्व ईद उल फित्र मनाउँदै छन् । बुधबार सरकारी बिदा तोकिएता पनि बिहिबार ईद पर्व परेको हुनाले आज सरकारले सार्वजनिक बिदा दिएको हो । हिजो बेलुकिको चन्द्रमा हेरि एक महिने व्रत सकिएको छ ।
यो पर्वमा र्इस्लाम धर्मावलम्बीहरूले आजको दिन बिहान नुहाईधुवाई गरी आ–आफ्ना गच्छ अनुसार नयाँ नयाँ कपडा लगाइ मस्जिद वा इदगाहमा भेला भई ईदको नमाज(प्रार्थना) पढ्छन् । मस्जिदमा एक–आपससँग गला मिलाई र्इदको शुभकामना आदान प्रदान गर्छन् । नमाज अघि हरेक मुस्लिमले आ–आफ्ना तर्फबाट धर्मगुरु या मस्जिद कमिटीले तोकेको रकम (सद–ए–फित्र) बुझाउँछन् । उक्त रकम गरीब, असहाय र अनाथलाई दिइने परम्परा रहेको छ ।
र्इदको नमाजपछि आफन्त, इस्टमित्र, छिमेकी र साथीभाइलाई बोलाएर सेवाई तथा मिठा मिठा पकवान बनाएर खाने र खुवाउने गरिन्छ । ठूलाबडाले आफू भन्दा स–सानालाई नगद वा उपहार स्वरुप ईदि तथा आशिर्वाद दिने गरेका छन् ।



