kutpit
हुलाकी न्यूज, जनकपुरधाम २२ असार ।
धनुषाको लोहना बभनगामा उच्च माविको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया छात्रा काजल मण्डललाई स्थानीय केही व्यक्तिहरुले सार्वजनिक स्थलमा बाँधेर कुटपिट गरेका छन् ।

जनकपुर उपमहानगर पालिका –१८ भोइलकी ती छात्रालाई स्थानीय केही व्यक्तिहरुले कुटपिट गरिरहेकै अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार काजलसँगै विद्यालय जाने ७ कक्षाकी एक जना छात्रा गाउँकै एक जना केटासँग भागेका थिए । उक्त कुरा काजललाई जानकारी भएपनि गाउँलेलाई नभनेको भन्दै ती व्यक्तिहरुले काजललाई कुटपिट गरेको हो ।

प्रहरीका अनुसार काजललाई स्थानीय सुजित मण्डल, जितेन्द्र मण्डल, रितेश मण्डल र रामहृदय पण्डितले मंगलबार बिहान छ बजेदेखि भोइल गाउकै एउटा सार्वजनिक दलानमा ११ बजेसम्म बाधेर राखेका थिए । सोमबारै विद्यालयबाट फर्किने बेला केटोसग भागेकी छात्रा कहा गएर बसेको भन्ने जानकारी नदिएसम्म बाधेर यातना दिइरहने उनीहरुले धम्की दिएका थिए ।

काजलले आफूलाई केही जानकारी नभएको भनिरहिन् । सँझसम्म खबर नगरे राति आएर आमाछोरी दुवैलाई उठाएर लाने धम्की दिएपछि काजल र आमा भगवति लुकेर छिमेकीको घरमा रात बिताएको स्थानीयहरुले बताए ।

बिहान घरमा आउने बित्तिकै ढुकेर बसिरहेका जितेन्द्र, रितेश र रामहृदयले आमाछोरी दुबैलार्ई नियन्त्रणमा लिएर घण्टौ यातना दिएको काजलले प्रहरीलाई बताइन् ।

दिउसो ११ बजे खाना खानको लागि आधा घण्टापछि फेरी हाजिर हुने शर्तमा खोलेपछि काजलले भाई सन्तोषलाई जनकपुरका महिला अधिकारकर्मीहरुलाई घटनाको जानकारी दिन पठाएपछि प्रहरी पुगेको थियो ।

सन्तोषले काजललाई बाधेर यातना दिन थालिए लगत्तै नजिकैको कपिलेश्वर प्रहरी चौकीमा न्याय माग्न पुगेका थिए । प्रहरीले वास्ता गरेन । बरु, उल्टै बहिनीलाई बाधेर राखेको छ भने फोटो खिचेर ल्याउन भनेका थिए । सन्तोषले बल्लतल्ल पीडकलाई छलेर पछाडीबाट खिचेर ल्याएको फोटो देखाएपछि ‘पिटिरहेको फोटो खोई ?’ भन्दै चौकीका इन्चार्ज सई पन्नालाल साहले हप्काएर फर्काइदिएको गुनासो गरे ।

तस्बिर : जनकपुर टुडेबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.