Muslim_protest_centar
मोहम्मद जाकिर हुसैन

“हामी ठोस रूपमा निर्धारण नभएको लक्ष्यहीन, गन्तव्यबिहीन यात्रामा छौंं । न हाम्रो पद्धति वैज्ञानिक छ, न हामीसित ठोस नीति बन्न सकेको छ, न वैचारिक संगठन नै । आन्दोलन गर्नुपर्छ भन्ने कुरा मात्र बुझ्यौं हामीले । यो एक किसिमले यूरोपमा मजदुरहरूले गरेको स्वस्फूर्त र असंगठित आन्दोलनजस्तै भयो । त्यसैले यी आन्दोलनहरूले जुन स्पीरिटमा मुस्लिम समुदायमा राजनीतिक चेतनाको विकास गराउन सक्थ्यो न त्यसमा यो सफल भएको छ, न मुद्दागत हिसाबले जुन स्तरमा संविधानमा र राज्यस्तरमा आफ्ना मुद्दाहरूलाई स्थापित गराउन सक्थ्यो त्यसमा सफल भएको छ । आंशिक उपलब्धिहरू मात्र हासिल भएका छन् । आंशिक उपलब्धिको उन्मादले समुदाय र आन्दोलनलाई ठोस परिवर्तनको बाटोबाट अलग गर्नेछ ।”

“जातीय हिसावले ऊ मुस्लिम वा मुसलमान हो । धार्मिक रूपमा ऊ इस्लाम धर्मावलम्बी हो । मधेश, पहाड, हिमाल र अलग अलग पहिचानका सवै भूगोलमा केही न केही मुस्लिम आवादी रहेको आफ्नो विशिष्ट विशेषता बोेकेकोले नै मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान उनीहरूको मुख्य राष्ट्रिय मुद्दा बन्यो । यो उसको विशिष्ट अन्तर्राष्ट्रिय पहिचान पनि हो । तर, मधेशमा बस्ने मुसलमानको भौगोलिक पहिचान मधेशी नै हो ।”

लिओनमा फ्रान्सेली मजदुरहरू, जर्मनीमा स्लेजेन प्रदेशका जुलाहाहरूले बिद्रोह गरे । बेलायतमा बडापत्र आन्दोलनले व्यापक रूप लियो । मजदुरहरूले श्रमको अवस्थामा सुधार, पारिश्रमिकमा वृद्धि, श्रम दिनुमा कटौती आदिको माग गरे । सामन्ती र पूँजीवादी व्यवस्थाको तत्कालीन समाजमा मजदुरहरूको त्यो बिद्रोह असंगठित र स्वस्फूर्त थियो । मजदुरहरूलाई आफ्नो लक्ष्यबारे स्पष्ट बोध थिएन । उनीहरूलाई आफ्ना वर्गीय सत्रुहरूको विरुद्ध संघर्षको प्रभावकारी बाटो र साधनहरूको राम्रो ज्ञान थिएन । अझ प्रष्ट्याउँदा मजदुरहरूलाई आफ्नो समस्याको मुल कारण थाहा थिएन; त्यस समाजको समस्याको कारकतत्व के हो, थाहा थिएन; आफ्नो बिद्रोहको वैज्ञानिक विधि थाहा थिएन; बिद्रोहको लक्ष्य थाहा थिएन ।

नेपालमा राणा शासनले आम नेपाली जनतामाथि ठूलो अत्याचार ग-यो । विभेद र उत्पीडन शुरु भयो । सामान्य मानवअधिकारको हनन भयो । राणाविरुद्ध आन्दोलन भयो । पछि पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनहरू भए । प्रजातन्त्रको पुनर्बहालपछि पनि आन्दोलनहरू भए । यताका पौने तीन दसकमा पनि लगातार ठूला ठूला आन्दोलनहरू भएका छन् । आन्दोलनहरूको श्रृंखलाले नेपाल क्षतबिक्षत छ ।

Zakir_husenलक्ष्यहीन मुस्लिम आन्दोलन :

मुस्लिमहरूले पनि राणाकालदेखि नै समुदायगत केही मागहरू राख्दै आए । यद्यपि मुस्लिम समुदायको चारवटा आन्दोलनलाई मुख्य मान्न सकिन्छ । २०६५ मा संयुक्त मुस्लिम संघर्ष समितिले गरेको आन्दोलन, २०६८ मा शहीद फैजान संघर्ष समितिले गरेको आन्दोलन, २०६८/०६९ मा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले गरेको आन्दोलन र २०७२ मा गठबन्धनले गरेको दोश्रो आन्दोलन उल्लेखनीय छन् । मुसलमानहरूले मधेशले गरेका सवै आन्दोलनहरूमा पनि मुख्य सहभागिता जनाएका छन् । २०६३/०६४ को आन्दोलन र मधेश बिद्रोहमा होस् वा ०७२/०७३ को मधेश आन्दोलनमा होस् मुस्लिम समुदायको विशेष चासो र उपस्थिति रह्यो । माओवादी जनयुद्धमा पनि मुस्लिम समुदायको सहभागिता रह्यो ।

नेपालमा भएका दुई आन्दोलनको लामो इतिहास र महत्व छ– बाम आन्दोलन र लोकतान्त्रिक आन्दोलन । यसका अतिरिक्त नेपालमा जनजाति, मधेशी, दलित, महिला र मुस्लिमले सामुदायिक वा जातीय आन्दोलन गरेका छन् । यी राष्ट्रिय मुक्तिका लागि गरिएका आन्दोलनहरू हुन् । यिनको पनि बेग्लै महत्व छ । युवा, विद्यार्थी, मजदुर र किसानहरू पनि निरन्तर आन्दोनमा छन् ।

मुस्लिम आन्दोलन नेपालमा केही खास उद्देश्य प्राप्तीको लागि भएको देखिन्छ । जस्तै– संविधानमा पृथक राष्ट्रिय पहिचान, समानुपातिक समावेशिता, विशेषाधिकार, विशेष संरचना, पारिवारिक कानून, मद्रसा बोर्ड र मुस्लिम आयोगको माग इत्यादि । तर, के यी ५–१० मुद्दाको सम्बोधनले मुस्लिम समुदायको समस्या समाधान होला ? के यिनै मागहरू पूरा गराउन मात्र आन्दोलन गर्ने ? यत्ति मात्र हो आन्दोलनको लक्ष्य ? यी प्रश्नहरूको उत्तर खोज्नु आवश्यक छ । मुस्लिम आन्दोलनले आफ्ना समस्याहरू किटान गर्नुपर्छ, लक्ष्य निर्धारण गर्नुपर्छ । आन्दोलनको पद्धति प्रष्ट्याउनु पर्छ । गन्तव्यहीन यात्रालाई आन्दोलनको रूपमा बुझ्नु ऐतिहासिक गलती भएको छ र हुनेछ । म मुस्लिम आन्दोलनहरूको शीर्ष नेतृत्वमा रहेको व्यक्ति हो । अनुभवले मैले के पाएँ भने हामी ठोस रूपमा निर्धारण नभएको लक्ष्यहीन, गन्तव्यहीन यात्रामा छौंं । न हाम्रो पद्धति वैज्ञानिक छ, न हामीसित ठोस नीति बन्न सकेको छ, न वैचारिक संगठन नै । आन्दोलन गर्नुपर्छ भन्ने कुरा मात्र बुझ्यौं हामीले । यो एक किसिमले यूरोपमा मजदुरहरूले गरेको स्वस्फूर्त र असंगठित आन्दोलनजस्तै भयो । त्यसैले यी आन्दोलनहरूले जुन स्पीरिटमा मुस्लिम समुदायमा राजनीतिक चेतनाको विकास गराउन सक्थ्यो न त्यसमा यो सफल भएको छ, न मुद्दागत हिसाबले जुन स्तरमा संविधानमा र राज्यस्तरमा आफ्ना मुद्दाहरूलाई स्थापित गराउन सक्थ्यो त्यसमा सफल भएको छ । आंशिक उपलब्धिहरू मात्र हासिल भएका छन् । आंशिक उपलब्धिको उन्मादले समुदाय र आन्दोलनलाई ठोस परिवर्तनको बाटोबाट अलग गर्नेछ । आन्दोलनका अभियन्ताहरू सचेत हुनै पर्छ ।

मुल समस्याको पहिचान 

नेपाली समाजको मुल समस्यामा सामन्तवाद, उच्च पहाडीया ब्राह्मणवादी अहंकारवाद र एकात्मक राज्यप्रणाली रहँदै आएको हो । खास जाति, वर्ग, भाषा, संस्कृति, धर्म र भूगोलका केही नौकरशाहहरूको बहुसंख्यक नेपाली जनतामाथि आधिपत्य कायम भयो । राज्य संयन्त्रमा तिनको मजबुत पकड र प्रयोगले बहुसंख्यक जनता उत्पीडनको शिकार हुन पुगे । भौगोलिक एकीकरणमा भूमिका खेल्नेहरूले पृथक मनोविज्ञान, इतिहास र बसोवासलाई एकीकृत गरी भावनात्मक राष्ट्रिय एकीकरण गर्ने दूरदर्शिताको प्रयोग गरेनन् र एकात्मक राज्य प्रणाली आम जनतामा लादियो जुन विभेद र उत्पीडनको मुल कारक बन्यो । यो स्थायी प्रकृतिको मारमा यहाँका मुसलमानहरू पनि परे ।

मुस्लिम समुदायको विशिष्ट समस्या :

मुस्लिम समुदाय इस्लाम धर्म मान्दछ । हिन्दू राज्य हुँदाको बखतमा लामो समयदेखि धार्मिक अल्पसंख्यकको रूपमा चिनिएको मुस्लिम समुदायले धार्मिक उत्पीडन पनि बेहोर्नु प¥यो । इतिहासले उसलाई कपोलकल्पित ढंगले आगन्तुक पनि भनिदियो जबकि बहुसंख्यक मुसलमान जो तराई÷मधेशमा बसोवास गर्दछन्, एकीकरण अभियान र मधेशमा भारतीय औपनिवेशिकतापछि कुनै चरणमा भूगोलसमेत नेपालमा गाभिएको हो । यो कुनै आगन्तुक र आप्रवासी होइन । तर, उसमाथि आप्रवासी शैलीको व्यवहार भयो ।

अर्काे विशिष्ट समस्या भनेको अधि–मधेशवादी सामन्ती सोच हो । ९७ प्रतिसत मुसलमान मधेशमा बसोवास गर्दछन् । भौगोलिक र नश्लीय रूपमा त्यहाँका मुसलमान मधेशी हुन् । जातीय हिसावले ऊ मुस्लिम वा मुसलमान हो । धार्मिक रूपमा ऊ इस्लाम धर्मावलम्बी हो । मधेश, पहाड, हिमाल र पृथक पहिचानका सवै भूगोलमा केही न केही मुस्लिम आवादी रहेको आफ्नो विशिष्ट विशेषता बोेकेकोले नै मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान उनीहरूको मुख्य राष्ट्रिय मुद्दा बन्यो । यो उसको विशिष्ट अन्तर्राष्ट्रिय पहिचान पनि हो । तर, मधेशमा बस्ने मुसलमानको भौगोलिक पहिचान मधेशी नै हो । मधेशमा एकथरिका मधेशी वा खास वर्गका मधेशी नेताहरूले आफूलाई मात्र मधेशी ठान्ने प्रवृत्ति छ वा त्यहाँको मुख्य रैथाने वा मधेशको उत्तराधिकारी वा शासक आफूलाई ठान्ने प्रवृत्ति छ । उसले मधेशमा थारू, दलित, मुस्लिम, पिछडा वर्ग वा मधेशमा बसोवास गर्ने कसैले पनि दोहोरो पहिचानको आवाज उठाएको सुन्न चाहँदैन । यो मधेशको विशिष्टतामा अधि–मधेशवादी प्रवृत्ति हो । मधेशमा यस अधि–मधेशवादी प्रवृत्तिसँग पनि मुस्लिम समुदायको आन्तरिक संघर्ष छ । अनि मधेशमा सामन्तवादको अवशेष आज पनि मबजुत ढंगले स्थापित छ । आज पनि जमिन्दारी प्रथाले निम्न वर्गीय मधेशी, थारू र मुसलमानलाई नराम्ररी गाँजेको छ । मुस्लिम समेत निम्न वर्गीय सवै मधेशीहरूका लागि यो अति विशिष्ट समस्या हो । मुस्लिम आन्दोलनले यो समस्यालाई मुख खोलेर बोल्ने साहस गरेन ।

संविधानसभाले जारी गरेको संविधानमा मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान दिई अलग क्लष्टर निर्माण गरेको शासक प्रवृत्तिका मधेशी नेताहरूलाई बिलकुल अपाच्य भएको छ । यति मात्र होइन, शाषक वर्गले मधेश आन्दोलनलाई मत्थर पार्न विभिन्न हथकण्डा अपनाइरहँदा मधेशको यस अधि–मधेशी प्रवृत्तिमाथि विचार पु-याउँदै उनीहरूलाई खुशी तुल्याउन संविधानमा थपिएका मुस्लिम, थारूसमेत केही क्लष्टर हटाएर मधेशी क्लष्टरमै गाभिदिनेसम्मको प्रपञ्च रच्दैछ । यो सम्भव नभएमा संविधानमा मुस्लिम क्लष्टर प्रष्टीकन पनि व्यवहारमा मुस्लिम समुदायले पाउने आरक्षण र विशेषाधिकार उनीहरूलाई प्रदान नगर्ने प्रवृत्ति प्रष्टिंदै गएको छ ।

साझा रोडम्याप – समाजवादी अर्थतन्त्र 

एकात्मक राज्यव्यवस्थाको अन्त गरिनुपर्छ । पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलाई संस्थागत गरी समृद्ध र विभेदरहित समाजको निर्माण गरिनुपर्छ । लामो समयदेखि बिद्यमान सामन्ती व्यवस्थाको अन्त भई मुलुक पूँजीवादी अर्थतन्त्रमा प्रवेश गरेको छ । पूँजीवादी अर्थतन्त्रको विशेषता नै हो यसमा ठूलो अन्तरसंघर्ष हुन्छ र त्यसले समाजवादी अर्थतन्त्रको रोडम्याप तय गर्छ ।

मुस्लिम समेत सवै उत्पीडित वर्ग, समुदाय र क्षेत्रका जनताको साझा समस्याको दीगो र दीर्घकालीन हल समावेशी चरित्रको समाजवादी व्यवस्थामा प्रक्षेपण नै हो । तसर्थ, अब मुस्लिमलगायत मधेशी, जनजाति, दलित र महिला आन्दोलनहरू पनि खुद्रे मुद्दाहरूमा मात्र केन्द्रिकृत हुनु हुँदैन । नयाँ संविधानले धेरै हदसम्म वैचारिक निकास दिने वातावरण निर्माण गरिदिएको छ । अब राष्ट्रियताको रक्षा गर्दै स्थायित्व, सुशासन, शान्ति, विकास र समृद्धिमाथि सवैको साझा पहल हुनै पर्दछ । तसर्थ, मुस्लिम लगायत उपरोक्त सवै आन्दोलनहरूले समाजवादी व्यवस्थाको लक्ष्य अनुरूपको कार्यदिशा तय गर्नैपर्छ ।

साझा समस्या – साझा संघर्ष 

यूरोपेली मजदुरहरूले आफ्नो शक्तिको आँकलन नगरी स्वस्फूर्त र असंगठित आन्दोलन गरिरहेका थिए जसलाई कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले गहन विश्लेषण गरी व्यवस्थित तुल्याए । अनुभव र प्रयोगले एउटा दर्शन नै अस्तित्वमा आयो । फलतः मजदुरको त्यो आन्दोलन समाजवादी क्रान्तिको रूपमा सफलताको शिखर चुम्यो ।

मुस्लिम समुदायले समाजको वैरी विश्लेषण गरिसकेपछि उसले साझा समस्या भोगिरहेका वर्गीय मित्रहरूसँग कठोर संकल्प गरी दीर्घकालीन आन्दोलनमा उत्रेर मात्र आफ्नो आन्दोलनलाई सार्थक तुल्याउन सक्दछ । नेपालमा मुस्लिम आन्दोलन मात्र होइन मधेश, जनजाति, दलित, महिला सवै आन्दोलन स्वस्फूर्त प्रकृतिका छन्, असंगठित, लक्ष्यहीन र दिशाहीन छन् । यिनले ठोस कार्यदिशा र क्रान्तिको पद्धति तय गर्न नसक्दा जनतामा नैराश्यता र अविश्वास छ । सिंगो आन्दोलन नै कमजोर बन्न पुगेको छ ।

त्यसैले मुस्लिम समुदायले आम नेपाली जनताको साझा समस्याहरूलाई बुझ्नु आवश्यक छ । साझा समस्याको समाधानको लागि साझा लडाइँ लड्नुपर्छ । अब एकल संघर्षले मात्र कसैको समस्या समाधान हुने अवस्था छैन । एक्लै एउटा उचाईमा पुगेको थारू आन्दोलको दुर्दशा हाम्रो सामु छ । निकै उचाईमा पुगेको मधेश आन्दोलनले उपलब्धि हासिल गर्न सकेन र आज मधेश र जनजाति आन्दोलन एकीकृति हुँदै गएको छ । सामन्तादी हिन्दू राजतन्त्र समाप्त पार्न माओवादीले तत्कालीन समयमा काँग्रेस र एमालेसँग ऐतिहासिक सहकार्य ग¥यो । ०४६ सालमा बामपन्थी र काँग्रेसले संयुक्त संघर्षको नीति लिएर नै सफलता हासिल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.