
जनकपुरधाम २० असार । मैथिली विकास कोषको सधारण सभाले अध्यक्ष पदमा पुनः जिवनाथ चौधरीलाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको छ । चौधरी जिल्ला विकास धनुषामा भ्रष्टाचार गरेको ठहर विशेष अदालतले गरेर जरिवाना तथा सजय तोकेको छ ।
स्थानीय पत्रिका जनकपुर टुडेमा प्रकाशति समाचार अनुसार नवगठित कार्यसमितिमा चार जना नयाँ अनुहार थपिएका छन् । कोषको सदस्य सचिवमा श्यामसुन्दर शशी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अशोक दत्त, नित्यानन्द मण्डल, अनिल चन्द्र झा, नविन मिश्र र अनिता रानी मण्डल रहेका छन् ।
१३ सदस्यीय पूर्ण कार्यसमितिमा मैथिली बिभाग राराब क्याम्पसको एकजना प्रतिनिधि पदेन सदस्य, जिविस धनुषा र जनकपुर उपमहानगर पालिकाको एक र एक जना प्रतिनिधि पदेन सदस्य, गाविस महासंघबाट एकजना पदेन सदस्य र संरक्षक समितिले मनोनयन गर्ने २ जना सदस्य रहने प्रावधान छ ।
कोषले हरेक वर्ष झै यस वर्ष पनि मैथिली साहित्यमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । मैथिली भाषाको विकास र साहित्यमा अतुलनिय योगदान चार जना व्यक्तित्वहरुलाई आइतवार एक समारोहका विच कोषले सम्मान गरेको हो । कोषले पुरस्कारहरुलाई विभिन्न चार विद्यामा विभाजीत गरि नगद, प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेको छ ।
कोषले डा धिरेन्द्र साहित्यीक प्रस्तुति पुरस्कार तीन दशक देखि अनवरत साहित्य क्षेत्रमा कलम चलाई राखेका वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडी भ्रमरलाई, सलहेस सांस्कृतिक पुरस्कार २०७१ पुरस्कार मिथिला नाटय कला परिषद, डा धिरेन्द्र साहित्यीक प्रस्तुति पुरस्कार साहित्यकार अयोध्यानाथ चौधरी र सलहेश पुरस्कार गितकार तथा गायक गुरुदेव कामतलाई प्रदान गरेको छ । पुरस्किृत भएकाहरुलाई प्रमाणपत्र, ५१ हजार नगद तथा दोसल्ला ओढाई सम्मान गरिएको छ ।
कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेशरन्जन झाले मैथिली विकास कोषको योगदानको वारेमा चर्चा गरेका थिए ।
कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भक्त श्रेष्ठ सरु भक्त रहेका थिए भने कार्यक्रममा सांसद शत्रुधन महतो, नेपाली कांग्रेस धनुषाका नेता राम सरोज यादव, रामचरित्र साह लगायतले आ–आफना धारणा व्यक्त गरेका थिए ।



