Hajaradin
हुलाकी न्यूज, जलेश्वर १९ असार ।
महोत्तरीमा सञ्चालित सुनौलो हजार दिन आयोजनामा उत्साहवद्र्धक सहभागिता देखिएको छ ।
यस पटक नयाँ १० वटा गाविसलाई लक्षित गरी सञ्चालन भएको सुनौला हजार दिन आयोजना कार्यक्रममा सहभागीहरु उत्साहित छन् ।

गर्भवती अवस्थादेखि दुई वर्षसम्मको बालबालिकासमेतलाई लक्षित गरी तीनका हेरालु समेतको सहभागितामा कार्यक्रम सञ्चालन गरिएपछि उनीहरु उत्साहित भएका हुन् । बच्चा गर्भमा रहेदेखि जन्मेको दुई वर्ष सम्मको अवधिलाई सुनौला हजार दिन मानेर कार्यक्रम सञ्चालनमा ल्याइएको कार्यक्रममा सहभागिता उत्साहजनक रहेको जिल्ला आयोजना संयोजक अजय साहले बताए ।

गर्भवती महिलाको स्वास्थ्य, पोषण, सरसफाई, खोप, सुरक्षित पानीको प्रयोग, धुवाँबाट बँच्ने उपाय, खुला दिसामुक्त, हात धुने लगायतका बारेमा कार्यक्रममा जानकारी दिईने गरेको बताउँदै उनले भने ‘गर्भवती, सुत्केरी र शिशुलाई दुई वर्षसम्म कसरी स्याहार सुसार र खानपान गराउने भन्ने विषयमा बृहत जानकारी दिइनाले उनीहरुमा रुची जागेको हो आयोजना संयोजक साहको कथन रहेको छ ।

समुदायका महिलाहरुमा जनचेतनाको अभाव रहेको भन्दै ग्रामिण महिलाहरुलाई सहजिकरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै प्रशिक्षक निल बहादुर लुम्रे मगरले भने ‘यो कार्यक्रम ग्रामिण एवम् विपन्न वर्गकालागि अति आवश्यक रहेकोले यसलाई प्रभावकारी रुपमा सञ्चालन गरिए समुदायमा व्यापक परिवर्तन आउने निश्चित छ ।’

विगतमा समेत यो कार्यक्रम लागु भए पनि प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन नभएको भन्दै लक्षित उपभोक्ताहरुले गुनासो गर्दैआएका थिए । बच्चाको शारीरिक र मानसिक विकासकालागि सुनौला हजार दिनको महत्वबारे कार्यक्रममा जानकारी पाएको खैरमारा गाविस–२ की बुद्धिमाया तामांगले बताइन् । स्वास्थ बच्चाकालागि गर्भवती आमाको स्वास्थ्यमा समेत ध्यान दिनु पर्दो रहेछ, उनले भनिन् ‘कार्यक्रमले हामीहरुको आँखा खोलिदिएको छ, हामीलाई खुशी लागेको छ ।’

सुनौला हजार दिन कार्यक्रमका आयोजना सहायक अशोक यादवका अनुसार यस अघि प्रथम चरणमा जिल्लाको औरही, रामगोपालपुर, हतिसर्वा, हरिहरपुरहरिणमरी, गोनरपुरा, भटौलिया, बथनाहा, पिगौला, लोहरपट्टी र तत्कालिन गाविस वर्दिवासमा संचालन रहेकोमा अहिले दोश्रो चरणमा खैरमारा, वलवा, खोपी, बसबिट्टी, मठिहानी, रतौली, भंगहा, धिरापुर, बनौलीदनौली र फुलहट्टा गाविस गरि ९ वटा थप गाविसमा कार्यक्रम सञ्चालन भईरहेको छ । दोश्रो चरणको गाविसहरुमा धमाधम कार्यक्रमहरु संचालन भईरहेकाको भंगहा, बलवा, धिरापुर, खैरमारा र बनौलदनौलीमा प्रथम किस्ताको काम सम्पन्न भई मध्यकालिन समिक्षा कार्यक्रम समेत सम्पन्न भईसकेको आयोजना सहायक यादवले बताए ।

स्थानीय विकास अधिकारी कृष्ण प्रसाद चापागाइँका अनुसार सयसमुदायको माग अनुसार समुदायमा सञ्चालित यो कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गरिने नमूना कार्यक्रमको रुपमा सञ्चालन गर्न आफू प्रयासरत रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.