
हुलाकी न्यूज, विराटनगर १९ असार । मधेशमा जारी क्षमा अभियान अन्तरगत मधेशका विभिन्न स्थानमा सहभोज तथा सामुहिक इफ्तार गरिएको छ ।
सप्तरीको गोईठी वडा नम्बर २ मा योगेन्द्र रामको घरमा शुक्रबार साँझ सहभोज गरिएको छ । उक्त भोजमा दलित तथा गैर दलितहरुको सहभागीता रहेको थियो ।
स्थानीय वाँतर र राम जातीका व्यक्तिहरुको विशेष उपस्थिति रहेको उक्त सहभोजमा क्षमा अभियान बारे अधिवक्ता दिपेन्द्र झाले जानकारी गराएका थिए ।
शनिबार विहान क्षमा अभियानमा सहभागी तुलानारायण साहको घरमा दलित तथा गैरदलितहरुले सामुहिक रुपमा नास्ता गरेका थिए ।
त्यस्तै शनिबार साँझ विराटनगरमा मधेशी मुस्लिमहरुसँग इफ्तार गरिएको छ ।

‘कौमी सदभाव दावत–ए इफ्तार’ मा विराटनगरमा मुस्लिमहरुसहित विशेष व्यक्तिहरुको सहभागिता रहेको थियो ।
इफ्तारमा सहभागीहरुले क्षमा अभियानलाई सकारात्मक भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
अधिवक्ता झाले हुलाकी न्यूजसँग कुराकानी गर्दै क्षमा अभियान अन्तरगत अव धनुषा–महोत्तरी लगायतको जिल्लामा पनि सहभोजको आयोजना गर्ने तयारी रहेको जनाए ।
त्यस्तै मधेशभन्दा बाहिर रहेका मधेशीहरुले कतार र दुबईमा पनि सहभोजको आयोजना गरेका छन् ।




