Rekha_Yadav

आन्दोलनरत संघीय गठबन्धन मध्येको एक घटक संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादव भन्छिन्,‘मधेशीले गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले अपहेलना गरेर मधेशीहरुलाई बन्दुक उठाउन बाध्य बनाउँदैछ । सरकारले यतिकालाई सहिद बनाइ सके अव मधेशीले पनि बन्दुक उठाउन सक्छ ।’ नेतृ यादवसँग हुलाकी न्यूजले गरेको अन्तरवार्ताको संक्षिप्त अंश ।

० पछिल्लो समयमा आन्दोलनको स्वरुप परिवर्तन भई काठमाडौंकेन्द्रित भएको छ । यसको प्रभाव कस्तो पाउनु भएको छ ?

— आन्दोलन भनेको एक वा दुई दिन मात्र गरेर पुग्दैन । आन्दोलन छोटो समयको हुँदैन । त्यसको प्रभाव पछि पर्छ । हामीले जुन उद्देश्यका साथ आन्दोलन गरेका हुन्छौं त्यो उद्देश्य पूरा नभएसम्म त्यसलाई निरन्तरता दिनै पर्छ । अहिलेको आन्दोलनलाई सरकारले नसुनेको जस्तो लाग्छ । तर, त्यसको सरकारमाथि परिरहेकै छ । प्रधानमन्त्री स्वयम्ले पनि आन्दोलनकारीहरुलाई वार्ताका लागि बोलाएको प्रतिक्रिया दिइरहेका छन् । यसको मतलब सरकारमाथि दबाब पक्कै परिरहेको छ ।

० मधेश आन्दोलनको जुन माहौल थियो, त्यो अहिले गौण भएको देखिन्छ नि ?

— अहिले हामीले केन्द्रमा आन्दोलन गरिरहेका छौं । मधेशबाटै आएर आन्दोलन गर्नेपर्छ भन्ने त होइन । हामीले काठमाडौंकेन्द्रित गरिरहेको आन्दोलनको प्रभाव मधेशमा पनि छ । मधेशबाट पनि विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । मधेशका जनता योभन्दा अझ अगाडि आन्दोलन गर्ने भनेर उत्सुक छन् । यो आन्दोलनले पुगेन भने थप चर्को आन्दोलन गर्नुपर्छ भनेर मधेशी जनताले भनिरहेका छन् ।

० मधेशी जनता रुष्ट छन् जस्तो लाग्दैन ?

— मलाई लाग्दैन कि मधेशी जनता रुष्ट छन् भनेर । किनभने रुष्ट भएको भए यस्ता प्रतिक्रियाहरु आउने नै थिएन । अहिले मधेशमा खेतिपाती हुँदैछ । मधेशी जनताले नाकाबन्दी आन्दोलनमा साथ दिएकै हो तर, सधैं मधेशको अर्थतन्त्रलाई असर पारेर हुँदैन । हामीले राज्यसत्तालाई असर पार्नका लागि नाकाबन्दी गरेका थियौं । राज्यसत्ताले मधेशका जल, जंगल र जमीन लगायत आम्दानी स्रोतहरु मात्रै नेपालको हो भन्ने सोच देखियो । जसले गर्दा मधेशका जनताले बढी दुःख पाए । तर, शासकहरुले मधेशी जनताको पीडालाई वास्ता गरेनन् । मधेशको पीडा राज्यले पनि बोध गरोस् भन्नका लागि नै हामीले अहिले केन्द्रमा आन्दोलन गरिरहेका छौं ।

० लगातार ६ महिना मधेशमा आन्दोलन भयो, पाँच दर्जन मधेशीले सहादत दिए । तर, यसको उपलब्धि के–के भयो भनेर भन्दाखेरि के भन्नुहुन्छ ?

— आन्दोलनले आफ्नो लक्ष्य प्राप्त नगरेसम्म उपलब्धि के–के भयो भनेर भन्न सकिदैन । अहिले आन्दोलन जारी नै छ । त्यसले गर्दा पाँच दर्जन मधेशीको सहादतको उपलब्धि के भयो भनेर भन्नै हुँदैन । जुन कारणले गर्दा मधेशी जताले सहादत दिएका छन् त्यहीं प्राप्तिका लागि अहिले हामी काठमाडौंमा आन्दोलन गरिरहेका छन् । हामीले आफ्नो अधिकारका लागि अहिले रिले अनसन गरिरहेका छौं । यसबाट पनि राज्यसत्ताले सुनेन भने अझ योभन्दा पनि चर्को आन्दोलन गर्छौं ।

० जस्तो कि ?

— जस्तो कि हामी अब आमरण अनसनमा बस्छौं । आमरण अनसनले पनि यो राज्यसत्ताले सुनेन भने त्यसको पनि विकल्प खोजिन्छ ।

० तर, पछिल्लो समयमा सरकारको जुन रवैया देखियो, त्यो कस्तो लाग्छ तपाइँलाई ?

— राज्यसत्ताको रवैया एकदमै नकारात्मक रहेको छ । पछाडि पारिएका समुदायका व्यक्तिहरु मानव होइनन्, नेपाली होइनन्, यहाँका जनता होइनन् जस्ता व्यवहार यहाँ राज्यसत्ताले देखाएका छन् । यिनीहरु यो मानसिकताबाट अझसम्म पनि बाहिर आउन सकेका छन् ।

० तर, जुन किसिमले अन्तर्राष्ट्रियस्तरबाट आन्दोलनरत् पक्षमा समर्थन आएको छ, त्यो किसिमले राज्यपक्षमाथि आन्दोलनकारीले दबाब बनाउन सकेन नि त ?

— मधेशी जनताले नाकाबन्दी जसरी आन्दोलन ग¥यो र सहादत प्राप्त गरे त्यसबाट के देखियो भने मधेशी जनता मरे पनि केही फरक पर्दैन भन्ने मानसिकता राज्यपक्षको रहिरह्यो । त्यसले हामीले संघीय गठबन्धन बनाएर अहिले रिले अनसन गरिरहेका छौं । त्यो रिले अनसनबाट पनि सुनेन भने आमरण अनसन गर्छौं । यदि यति हुँदाहुँदै पनि राज्यसत्ताले सुनेन र बन्दुक ताक्छ भने अब जनता चुप लागेर बस्दैन र अब जनताले पनि बन्दुक ताक्छ । अथवा नयाँ संविधान बनाएर जनताको माग सम्बोधन गर्नुपर्छ । यसका लागि जनता हाम्रो साथमा छन् ।

० भनेपछि समानान्तर संविधानको अवधारणामा जान सकिन्छ ?

— यदि एउटै नश्लको मात्र सधैं संविधान बनिरहन्छ भने त्यसको अर्को उपाय पनि त छैन नि । हाम्रो संविधान त बन्नैप¥यो । जनतामुखी संविधान बन्नुप¥यो ।

० त्यतिबेला गृहयुद्धको सम्भावना हुन्छ नि त ?

— महाभारतकालमा पनि पाण्डवलाई पाँचवटा राज्य दिइएको भए त्यो महाभारत हुने नै थिएन । कौरवको विनास हुने नै थिएन । तर, तिनीहरु पाँच वटा राज्य नदिए वापत त्यो भोगाइ भोगियो । यदि नश्लवादीहरुले त्यहीं सोच राख्छ भने त हामी किन पछि हट्ने ? हामीले आफ्नो पहिचान र अधिकार जसरी पनि लिएरै छाड्छौं । त्यसका लागि उनीहरुले यदि युद्धकै आह्वान गर्छ भने त्यसमा हामी पछि हट्दैनौं ।

० पछिल्लो समयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ब्यानरमा आन्दोलन भइरहेको थियो, अहिले संघीय गठबन्धन बनाएर आन्दोलन हुँदैछ । तर, संघीय गठबन्धनको औचित्य प्रष्ट भएन नि ?

— कसरी प्रष्ट भएन भन्ने । त्यहाँ पनि के देखिन्छ भने ब्राह्मणमा सबै ब्राह्मणले सबैथोक पायो भन्ने छैन । उनीहरु पनि आफ्नो अधिकारका लागि हाम्रो साथमा हुन्छन् भने किन उनीहरुलाई समावेश नगर्ने ? जनजातिहरुको स्थिति पनि त्यस्तै छ । उनीहरुलाई लड्ने लडाइने कार्य मात्र गरियो तर, अधिकारविहीन बनाइयो । यदि उहाँहरुले हामीसँग काँधमा काँध मिलाएर हामीसँग लड्नुहुन्छ भने समावेश गराउनुपर्छ ।

० तर, धेरै ठाउँमा उहाँहरुसँगको एजेन्डा फरक देखिन्छ नि ?

— सबै ठाउँमा सबैको एजेन्डा एउटै किसिमको हुन्छ भन्ने छैन ।

० तर, एजेन्डा एउटै भएको समूहहरुलाई सँगै लिएर जाँदा पो आन्दोलनले सकारात्मक परिणाम ल्याउँछ । तर, तपाइँभित्रै फाटो छ भने कसरी सफल हुन्छ ?

— हामीबीच फाटो छैन । किनभने गैरमधेशीहरु पनि यो आन्दोलनमा यी सब कुरा बुझेरै आएका हुन् नि । त्यसलाई त आत्मसात गर्नैपर्छ । भोली राज्यले हामीसँग वार्ता गर्छ भने कतिपय ठाउँमा दुई कदम हामी पनि पछाडि हट्नुपर्ने हुन्छ भने कतिपय ठाउँमा दुई कदम उ पनि पछाडि हट्नुपर्ने हुन्छ । होइन भने हामी जिन्दगीभर आन्दोलन गरे पनि त्यसले मूर्तरुप लिन सक्दैन ।

० संघीय गठबन्धनभित्रै आन्तरिक विश्वास देखिदैन नि ?

— गठबन्धनभित्र त्यस्तो केही पनि छैन । किन यस प्रकारको मिडियाबाजी भयो हामी बुझ्न सकेनौं । हातका पाँचवटै औंला बराबर नभएजस्तै धेरै कुरामा मतभेद पनि हुनसक्छ । तर, पनि हामी आफ्नो एजेन्डालाई लिएर साथमा छौं भने त्यसलाई अन्तरद्वन्द्व भन्न मिल्दैन ।

० त्यसो भए संघीय गठबन्धनले सकारात्मक परिणाम ल्याउँछ ?

— एकदम ल्याउँछ । किनभने यसमा एउटा जात, समुदाय अथवा भूगोल छैन । यसमा नेपालका हरेक भूगोल, जात र समुदायलाई समेटिएको छ । यी सबै समुदाय मिलेर यदि आन्दोलन गर्छन् भने अवश्य लक्ष्यमा पुग्छन् भन्ने मलाई विश्वास छ ।

० सरकार परिवर्तनको कुरा भइरहँदा गठबन्धनका केही घटकहरुले सहमति र सहकार्यका कुरा गर्दै थिए । कही न कहीं सरकार परिवर्तनले आन्दोलन तुहाउने त होइन ?

— एकदम होइन । यो मिथ्या कुरा हो । विगतका घटनाहरुलाई नियाल्ने हो भने मान्छेलाई शंकाउपशंका हुन्छ । तर, अहिले त्यस्तो कुनै पनि समभावना देखिदैन ।

० तीन वटा बुँदाहरु भन्नुस् कि यो आन्दोलन सकिन्छ कसरी ?

— सरकारले गठबन्धनको मागलाई सम्मान गर्नुप¥यो । वार्तामा सकारात्मक सोच लिएर आउनुप¥यो । यो मागहरु जायज हो भनेर बुझ्नुप¥यो । किनभने प्रधानमन्त्री आफैले बारम्बार अभिव्यक्ति दिने गरेका छन् कि यिनीहरुको झिनामसिना मागहरु छन् भनेर उहाँले मधेशी जनतालाई झिनामसिना सम्झनुभयो कि अथवा मधेशी आदिवासी जनजातिहरु झिनामसिना हुन् कि । के हुन् भन्ने कुरा उहाँले स्पष्ट गर्नुप¥यो ।

० तर, उहाँहरुको कथन अनुसार मधेशी जनताको अधिकांश मागहरु पूरा भइसकेको छ नि त ?

— त्यो त एक हातले लिने र दोस्रो हातले दिने काम भएको छ । संविधानका धाराहरुमा लेखिएको छ तर, कानूनले छेकवार गरिएको छ । संविधान पनि त स्पष्ट हुनुप¥यो नि । देखाउने अर्को दाँत र खाने अर्को दाँत गर्नु भएन नि । संविधान अहिले त त्यहीं भएको छ । त्यसकारण हाम्रो माग सम्बोधन भएको जस्तो लाग्दैन ।

० मधेशी जनताहरुका लागि के भन्नुहुन्छ ?

— अरुको बोली सुन्नुभन्दा हामीले आत्मालोचना पनि गर्नुपर्छ । हाम्रो अधिकार के हो, हामी कसरी चल्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । जुन विश्वासको कमी देखिदै गएको छ, सबभन्दा पहिला विश्वास हुनुप¥यो । मधेशी जनताले हामीलाई साथ दिनुपर्छ । जबसम्म उहाँहरुले हामीलाई साथ दिनुहुन्न तबसम्म सफल हुन गाह्रो हुन्छ ।

० यतिका दिनसम्म जनताले साथ थिए, तर आन्दोलन सफल नहुनुमा कतै न कतै नेतृत्वको कमजोरी त हैन ?

— नेतृत्वको कमजोरीभन्दा पनि हामी कोसँग लडाइँ लड्दैछौं त्यो पनि हेर्नुप¥यो । किनभने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै उहाँको एउटै श्वर छ मधेशमा केही भएको छैन । जसले गर्दा कालाबजारी फस्टाएको छ । कालाबजारीले उहाँहरुलाई पालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.