
हुलाकी न्यूज, काठमाडौं १७ असार । सरकारसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा ३६–३६ पटक वार्ता गरेपनि कुनै निष्कर्षमा नपुगेपछि सार्थक वार्ताका लागि नेपाल बार एसोसिएसनले अग्रसरता देखाएको छ ।
सरकार र मधेशी मोर्चाबीच सार्थक वार्ताका लागि वातावरण निर्माण गर्न बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाको संयोजकत्वमा बनाइएको वार्ता सहजीकरण समितिले संघीय गठबन्धनसँग आज छलफल गरेको छ ।
सो छलफलमा वार्ता सहजीकरण समितिले गठबन्धनको माग र एजेण्डा लगायतका विषयमा जानकारी लिएको थियो । गठबन्धनसँग समितिले फेरि अर्को चरणको छलफल गर्ने र यो टोलीले राज्य पक्षसँग समेत छलफल गर्ने जनाइएको छ ।
दुबै पक्षसँग छलफल गरिसकेपछि सार्थक वार्ता गराउने प्रयास तयारी हुनेछ । दुई पक्षमा वार्ता भएपछि सो टोलीले आएको निष्कर्षसहितको एक स्वेतपत्र जारी गरिने जनाइएको छ । सो छलफलमा गठबन्धनका शीर्ष नेता तथा समितिका सदस्यहरु सहभागी थिए ।



