
हुलाकी न्यूज, काठमाडौं १५ असार । करिब एक वर्षदेखि आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग वार्ता गर्नुभन्दा पनि केही महिनाअघि निर्माण गरिएको संघीय गठबन्धनसँग वार्ता गर्नु उपयुक्त हुने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
काठमाडौंको रिपोर्टस् क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने,‘मधेशी मोर्चा पनि संघीय गठबन्धनमै छ । गठबन्धन आन्दोलनमा छ त्यसैले गठबन्धनसँगै बार्ता गर्नु पर्छ । अलग अलग बार्ता गरेर समस्याको समाधान निस्कदैन ।’
यता मोर्चाका एक घटक राजेन्द्र महतोले संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र मोर्चाको अलग्गै अस्तित्व रहेकोले अलग्गै पनि बार्ता गर्न सकिने धारणा केही दिन अघि राखेका थिए ।
बुधबार यादवले भने,‘सके आन्दोलनमा रहेका र संविधासभाको निर्वाचनमा नरहेका सबैसँग बार्ता गरे मुलुकले निकास पाउँछ । मोर्चासँग बार्ता गरेर समस्याको समाधान हुँदैन । यदि सरकारले बार्ताबाट समस्याको समाधान गर्न चाहेको हो भने संघीय गठबन्धनसँगै गरेर निकास निकाल्नुपर्छ ।’
यादवले गठबन्धनको आन्दोलनमा मधेशी मोर्चाको समेत समर्थन रहेको दावी गर्दै मोर्चाका घटकका कार्यकर्ताहरु अनसनमा सहभागि भईरहेको अवस्थामा राजेन्द्र महतो र महन्थ ठाकुर किन सहभागि नभएको भन्ने विषय उहाँहरुलाई नै सोध्न सुझाव दिए ।
पत्रकार सम्मेलनमा यादवले भने,‘मलाई गठबन्धनमा रहेका २८ दलले संयोजक चयन गरेको हो । यसमा सबैको समर्थन छ तर कसैलाई ब्यक्तिगत रुपमा ईश्र्या भए मलाई केही भन्नु छैन ।’
यादवले सत्तामा रहेका दलहरु गैरजिम्मेवार भएकोले समस्या खडा भएको आरोप लगाउँदै अहिले पनि सत्तामात्रै ओगटेर बस्ने हो भने मुलुकमा विद्रोहबाहेक अरु कुनै विकल्प बाँकी नरहने चेतावनी दिए ।



