
हुलाकी न्यूज, काठमाडौं १४ असार । नेपाल–भारत प्रबुद्ध समूहमा नेपाली टोलीका सदस्य डा.राजन भट्टराईले नेपाल–भारतको सम्बन्धलाई मधेशसँग जोड्न नमिल्ने बताएका छन् ।
उनले नेपाल–भारत सम्बन्ध सहज र सामान्य बन्दै गएकोले अब दुई देशको जनताको चेतनाको जगमा सम्बन्ध बन्नु पर्ने बताउँदै दुई देशको सम्बन्धलाई मधेश आन्दोलनसँग जोड नहुने तर्क गरे ।
मंगलबार रिपोर्टस् क्लवको कार्यक्रममा भट्टराईले भने,‘दुई देशको सम्बन्धलाई मधेश आन्दोलनसँग जोड्दा अप्ठ्यारो पर्छ । मधेशको समस्या आन्तरिक समस्या हो यसलाई बार्ता र संबादबाट छिटो समाधान गर्नु पर्छ र त्यसको लागि पहल भईरहेको छ ।’
दुई मुलुकको सम्बन्ध क्रमैसँग सुध्रदै गएको भन्दै यसको पछिल्लो कडिको रुपमा नेपाल र भारतका राष्ट्रपतिको एक अर्को देशमा भ्रमण गराउने गरी तयारी सुरु भईसकेको जानकारी दिए ।
उनले पछिल्लो समयमा दुई पक्षीय प्रशासनिक संयन्त्रहरुको बैठक नियमित जसो भईरहेको लगायतका कारणले हिजो सम्बन्धमा उत्पन्न दरारहरु कमैसँग कम हुँदै गएको दावी गर्दै नेपाल भारत सम्बन्ध राम्रो हुनुको विकल्प नभएको बताए ।
भट्टराईले नेपालमा असार २० र २१ गते प्रबुद्ध समूहको काठमाडौमा बस्ने पहिलो बैठक परिचयात्मक बैठक हुने स्पष्ट पार्दै पहिलो बैठकले समूहको दुई वर्षे कार्यकालमा के–के गर्ने भन्ने विषयका योजना बनाउने जानकारी दिए ।
उनले समूहको बैठक प्रत्येक तीन तीन महिनामा बस्ने र त्यसले नेपाल भारत सम्बन्ध सुमधुर पार्न दुई देशवीचका सन्धी, सम्झौताहरुलाई समयानुकुल बनाउन आवश्यक सुझाव दिने बताए ।



