हुलाकी न्यूज, काठमाडौं ११ असार । नेपाल सरकारलाई आन्दोलनरत पक्षसँग वार्ता गर्ने समयसीमा असार मसान्तसम्म मात्र रहेको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता कर्णले असार मसान्तसम्ममा सरकारले फलदायी वार्ता नगरे मधेशी मोर्चासहितका आन्दोलनरत पक्षहरु मधेश फर्केर पुनः कठोर आन्दोलन गर्ने बताए ।
कर्णले बार्ताको सफलताका लागि प्रतिपक्षी दलको सहभागिता आवश्यक रहेको पनि औल्याए । काग्रेस, एमाले र माओवादीसहितको सहमतिमा बार्ता टोली बनाउनु बताउँदै कर्णले सरकारलाई समस्या समाधानका लागि असार मसान्तसम्मको मात्रै समयसीमा रहेको जिकिर गरे ।
उनले असार मसान्तसम्मको समयको सरकारले सदुपयोग नगरे गठबन्धनमा आबद्ध दलहरु आ आफ्नो क्षेत्रमा झर्ने स्पष्ट पार्दै साउनबाट मधेशी मोर्चाले मधेशका जिल्लाहरुमा अझै शसक्त आन्दोलन थाल्ने चेतावनी दिए ।
कर्णले बार्ताका लागि आन्दोलनको क्रममा घाईते भएकाको उपचार, मृतकलाई शहीद घोषणा र क्षतिपुर्ति तथा झुठामुद्दा खारेज गरेर न्यायीक छानविन आयोग गठन गर्नु पर्ने भन्दै औपचारिक बार्ता अघि सरकारले अनौपचारिक बार्ता गर्नु पर्ने सुझाव दिए ।



