
अंकुश श्रीवास्तव, कपिलवस्तु ११ असार । जिल्लाको गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिको तेस्रो साधारण सभा गणेशपुरमा सम्पन्न भएको छ ।
कपिलवस्तु क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहको प्रमुख आतिथ्यता, इलाका प्रशासन कार्यालयका प्रमुख मेघनाथ पाध्याको विशिष्ट अतिथ्यतामा शुरु भएको कार्यक्रमको संचालन जिल्ला वन कार्यालयका उपसचिव कृष्ण न्योपानेले गरेका थिए ।
कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख राकेश कर्णले कपिलवस्तु जिल्ला वैज्ञानिक वन व्यवस्थापनमा नेपालमै पहिलो भएको र आगामी दिन अझ उत्कृष्ट बनाउनका लागि नयाँ कार्यसमितिको चयनबारे जानकारी दिए ।
गौतम बुद्ध साझेदारी वैज्ञानिक वन व्यवस्थापनमा जिल्लामा दोस्रो स्थानमा छ, जुन दुईवटा नगरपालिका र दर्जनौ गविसका उपभोक्तालाई जंगल उत्पादनमा सहयोग गर्दै आएको समितिका संयोजक जानकी यादवले बताए ।



