संजीव विक्रम शाह, सप्तरी ११ असार । पत्रकार कुट्ने सिंचाइमन्त्री उमेश यादवका कार्यकर्ता माथि जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सार्वजनिक अपराध मुद्दा गरेका छन् ।
नेपाल प्रेस युनियन शाखा सप्तरीका कार्यसमिति सदस्य तथा स्थानीय ग्रीन मधेश दैनिकका सम्वाददाता निरज कुमार मण्डलमाथि भौतिक आक्रमण भएको विरुद्धमा प्रहरीले आक्रमण गर्नेहरु उपर मुद्दा दर्ता गरेका हुन् ।
असार ४ गतेका दिन समाचार संकलन गर्न जिल्लाको लालापट्टी गाविस वार्ड नम्बर ६ स्थित पोखरी तथा कूलो निर्माण गर्नका लागि गठन गरिएको उपभोक्ता समिति र सोसँग सम्बन्धित अन्य जानकारी लिन जाँदा सोही गाविस वार्ड नम्बर २ बस्ने ३५ वर्षीय धीरेन्द्र यादव, नवल यादव, भुपेन्द्र यादव, वार्ड नम्बर १ बस्ने परमानन्द यादव र वार्ड नम्बर ४ बस्ने छेदी रामले आफू सिचाइमन्त्रीको मान्छे हु भन्दै पत्रकार मण्डललाई हातपात तथा कुटपिट गर्दे ज्यान मार्ने धम्की समेत दिएका थिए ।
यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दर्ता गराउन जाँदा सिंचाइमन्त्री उमेश यादवको दबाबमा सप्तरी प्रहरीले मुद्दा दर्ता गर्न मानेको थिएन । पत्रकार मण्डल नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत हुन् ।



