
सरोज राय
हिजो मधेश आन्दोलनको क्रममा शहिद भएका नितु यादवको घर जमुनिया (जनकपुर बाट ५ किमी उतर) पुगेका थिए। घरमा ताल्चा लागेको देखेर छिमेकी संग सोधपुछ गर्दा एकजनाले भन्यो- “छोराको मृत्यु पश्चात नितुको आमा घरमा प्राय बस्दैन, दिनभरी खेत मै बस्छ, घर बस्दा छोराको याद आंउछ, कहिले उसको किताब त कहिले उसका कपडासंग कुरा गरिरहन्छ”।
एक छिनमा उनी घर आईन, हामी सित कुरा गर्दा कयौं पटक उनि रूईन। छोराको नाउ नितु कसरी भयो वारे उनि भनिन “दोस्रो सन्तान हुने बेलामा छोरीको धेरै अभिलाषा थियो तर जन्म भए छोरा, त्यही दिन देखी छोरालाई नितु नामबाट बोलाउन थाले, धेरै चूलवेले केटा थियो, दिनभरी उछल कुद, खोई त्यो दिन के भयो! मेरो छोरा किन भाग्न सकेन? ”
त्यही छेउमा बसेका एकजना करीव २२-२३ वर्षको युवा बिचमै हाम्रो कुरा काटेर अलि रिसमा भन्न थाले-“दाजु तपाई लाई थाहा छ नितुको मृत्यु कसरी भयो? म पनि संगै थिए, हाम्रो गाँवबाट थुप्रै मानिस गएका थिए, हामी जुलुसको पछाडी थिए। सब कुरा राम्रो थियो, हामी एउटा टोलीको नाच-गान देख्दै रमाई रहेका थिए कि अचानक गोली चल्यो र भागा भाग भयो। हामी पनि ३ जना नितु संगै भागे, म र मेरा एक साथी पर्खाल हाम फ्यालेर पारी लूके तर नितु पर्खाल वारी नै एउटा झाड़ीमा लुक्यो। हामी बोलाउन आंटेका थिए कि त्यतिकैमा प्रहरीको गाडी आउन थाल्यो, हामी त्यांहाबाट चुपचाप पछाडीको बाटो हुंदै चूरोट फ्याक्टरी तिर भागे। पछि बाट नितुको मृत्यु गोली लागेर भएको थाहा पांए।”
यतिकैमा बिचबाट अर्को एकजना कडाउंदै भन्ने- “के गोली लागेर मृत्यु भएको भन्छौं! नितुको हत्या गरिएको छ, त्यंहा भएको प्रत्यक्षदर्शी अनुसार झाडी हलेको देखेर प्रहरीको गाडी त्यही रोकियो र दुई तिनजना पछाडी बाट ओर्लेर गाली दिंदै नितुलाई झाडीबाट बाहिर निस्किन भन्यो। नितु आफ्नो दुईटै हाथ माथी उठाएर प्रहरी समीप आए, नजिक आउन बितिकै एउटा प्रहरी हात बट्टाएर उल्टो पारे र अर्को दुई तिन जना प्रहरी बुटै बुटै हिर्कायो र टाउकोमा बन्दूक़ राखेर गोली ठोक्यो। यदि नितुको पोस्टमार्टम भएछ भने उनका एउटा हात भांचिएको हुनुपर्छ!!”
अर्को एकजना फेरी रिसमा भन्न थाल्यो- “तपाईहरू अहिले शहरबाट मलहम लगाउन आउनु भयो, फोटो लिनु हुन्छ र जानु हुन्छ, पछिबाट शहिदको नाम पनि याद रहन्दैन होला। जनकपुरमा भएको कुनै पनि आन्दोलनमा शहरीयाहरू रोडमा निस्किदैन, जुलुसमा पनि हामी नै हुन्छौ र मर्नमा पनि हामी नै।”
उसको बोलीमा यतार्थ थियो। जनकपुर केन्द्रित कुनै पनि आन्दोलन वरपरको गाँववासीहरू कै कारण शसक्त र सफल भएका छन्।
नितुको आमा फेरी रूंदै भनिन-“धेरै जना घावमा पट्टी लगाउन आए, म संग फोटो खिचाए, फोन न. छोडेर गए तर जब अस्ति मेरो छिमेकी जयप्रकाश यादव, उनका श्रिमति ईन्दु र छोरा मनिष नितुको बुवा र मलाई घरबाट निकालेर पिट्यो.. कोई आई दिएन! मेरो बाख्रा उसको खेतमा गएको निह्युले पिट्यो..
आमाको कुरा पुरा हुन पाए छैन कि नितुको जेठो भाई जो यसपाली १.७४ ग्रेड ल्याएर कक्षा १० पास गरे भन्न थाले- “आमा छोड़ी दिनु तिनीहरूको कुरा, माफी माँगी सके, भईगो! यो दाजु काठमाण्डूबाट आउनु भएछ, २ महिना पहिला पैसा पठाउनु छ, आमाको नाउमा बैंक खाता खोलेर खाता न. पठाउन भन्नु भएको थियो तर तपाईको खाता नभएको कारण वहाँ स्वंम आउनु भएछ।”
म वहांहरूलाई विश्वास दिलाए कि सधैँ उनिहरूको सहयोगको लागी पहल गर्नेछु। ‘हेल्प मधेशी -क़तार च्यापटर’ बाट विशेष गरि तपाई (नितुको आमा) लाई प्रति महिना रू १५००/- गरि लगातार ३ वर्षसम्म सहयोग पठाउने छु। वंहालाई खाममा १५००/- राखेर पहिलो किस्ता दिए। अब उपरान्त रियाज साफी ‘हेल्प मधेशी’ को तर्फबाट तपाईहरू को लोकल केयर टेकर हुनेछ र कुनै पनि कुराको लागी रियाज संग सम्पर्क गर्न जानकारी गराए।
फर्किने बेलामा नितुको भाई संग एकछिन कुराकानी भयो। कक्षा १० पास गरेकोमा बधाई दिंदै अगाडी +२ पढ़्न प्रोत्साहित गरे र पढ़ाईको लागी पनि थप सहयोग ‘हेल्प मधेशी’ बाट गरिने बताए। उच्च शिक्षा भयो भन्ने राम्रो ज़ागिर हुन्छ र भोलीको दिन सरकारबाट पनि शहिद परिवारको सदस्यलाई सरकारी जागीरमा प्राथमिकता पांउछ र यसको लागी लोकतान्त्रिक मोर्चाले पनि पहल गर्ने आश्वासन दिए।
हुनत् सरकारले शहिद परिवारलाई कति सुविधा दिन्छ र लोकतान्त्रिक मोर्चाले कति पहल गर्छ वारे अहिले यकिनको साथ भन्न नसके पनि आश चांहि छ कि शहिद परिवारको लागी अवश्य पनि विशेष योजना बन्ने छ। न बन्ने हामी सबै मिलेर दवाब दिउंला भन्ने विश्वास छ।
अहिले सम्म यो परिवारले सरकारबाट पाउनु पर्ने १० लाख क्षतिपुर्ति पाएको छैन कारण नितु को ठाउमा निकु यादव लेखिएको छ तर गाविस सचिवले निकु र नितु यादव एउटै व्यक्ति रहेको सिफारिश गर्न बितिकै क्षतिपुर्ति पाउने धनुषा को CDO ले बताएका छन्। नितुको भाई यो काम चाडै हुने जानकारी दिए।




