
० तराई–मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन तयारी कस्तो भइरहेको छ ?
— नवलपरासीको रामग्राममा हुन गइरहेको महाधिवेशनको तयारीका लागि हामी लगभग एक महिनादेखि जुटेका छौं । तमलोपाको प्रथम महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि बनाइएका समितिहरुले आआफ्नो कार्य सम्पन्न गरिसकेका छन् । हामी महाधिवेशनका लागि पूर्ण तयारीमा छौं ।
० महाधिवेशनमा विधान संशोधनको कुरा आएको थियो, के–के कुरामा संशोधन हुँदैछ ?
— अहिलेसम्म विधान संशोधनका कुराहरु सार्वजनिक भइसकेको छैन । वृजेश गुप्ताको नेतृत्वमा विधान संशोधन समिति गठन भएको छ । त्यो समितिले विधानलाई परिमार्जन गरी महन्थ ठाकुरको नेतृत्वमा रहेको मूल आयोजक समितिलाई बुझाइसकिएको छ । त्यो विधानलाई हामी कार्य सम्पादन समितिले त्यसमा अझ केही सुधार गर्न आवश्यक छ भने त्यो गर्छौं । हामीले यसमा विशेष जोड दिएका छौं कि अझ समानुपातिक समावेशिता होस् । विगत जुन जम्बो कमिटी थियो त्यस सानो र छरितो होस् भन्नेमा हामी जोड दिएका छौं । पार्टीको केन्द्रीय समिति लोकतान्त्रिक पद्धतिबाट आओस् भन्ने हामी चाहन्छौं । एक व्यक्ति र एक पदको पनि कुरा आएको छ । यस विषयमा पनि गम्भीर रुपले कार्य भइरहेको छ ।
० मधेशवादी पार्टीमा टिके प्रथा देखिएको छ, जसमा अध्यक्षले जे निर्णय गर्दा हुने देखिएको छ, यसमा तमलोपामा कस्तो व्यवस्था छ ?
— पूरानो विधानअनुसार ८० प्रतिशत निर्वाचित र मनोनित थियो । यसबाट के हुन्छ भने विभिन्न किसिमका पार्टीका कार्यकर्ता हुन्छ जुन ग्रासरुटमा कार्य गर्छन्, विभिन्न क्षेत्रमा योग्य हुन्छ जसले गर्दा पार्टीलाई ब्यालेन्स गरेको हुन्छ । यी कुराहरु मिलाउनका लागि पार्टी अध्यक्षलाई अधिकार दिइएको हुन्छ । त्यसैले ८० प्रतिशत निर्वाचित र २० प्रतिशत मनोनित विधानमा राखिएको हुन्छ ।
० खासगरी मधेशवादी पार्टीहरुमा जातिवादी हावी भयो भन्ने आरोप लाग्ने गरेको छ । तमलोपामाथि पनि एउटा अमुक जातिको आरोप लागेको छ । यो महाधिवेशनले कतिको यो आरोपलाई चिर्न सफल हुन्छ ?
— यस्तो छ कि, फोरमलाई यादवको पार्टी, सद्भावनालाई पचगुनिया साहुजीको पार्टी र तमलोपालाई ब्राह्मणको पार्टी भनेर आरोप लाग्ने गरेको छ । मेरो के भनाइ छ भने मधेशमा जुन पार्टी छ उसैको बाहुल्यता रहन्छ । हामी बाहिरबाट त ल्याउन सक्दैनौं । अर्को कुरा के छ भने नेतृत्व जसको हुन्छ, उसप्रति उसका जातका मान्छेहरु बढी प्रभावित हुन्छ नै । यो मानवीय स्वभाव नै हो । तथापि हाम्रो प्रथम महाधिवेशनको मुख्य उद्देश्य एजेन्डा पार्टीलाई समावेशी बनाउनु नै हो । हामीले महसुस गरेका छौं कि पार्टीलाई जति समावेशी बनाउनुपर्ने हो त्यति गर्न सकेका छैनौं । यसमा हाम्रो कमी कमजोरी नै रह्यो । हामी जसरी राज्यसँग समानुपातिक समावेशिताको लडाइ लडिरहेका छौं त्यसरी हामी आफ्नो पार्टीबाट नै सुरुवात गर्नुपर्छ । सबभन्दा पहिला हामी तमलोपालाई नै समानुपातिक समावेशी गर्छौं र राज्यलाई देखाउँछौं कि यसरी समावेशी बनाउनुपर्छ । त्यसले तमलोपाको प्रथम महाधिवेशनको मुख्य एजेन्डा नै पूर्ण समानुपातिक समावेशिता नै हो । यो महाधिवेशनले हरेक जातजातिले आफ्नो साझा पार्टीको रुपमा मान्छन् र योग्यता र क्षमताको कदर हुन्छ ।
० तमलोपा प्रचार प्रसारमा मधेश राष्ट्रको कुरा गरिएको छ, जसलाई विभिन्न कोणबाट हेर्ने गरिन्छ । यसलाई पहाडि मिडियाले अर्कै किसिमले व्याख्या गर्ने गरेको पाइन्छ । यसमा तपाइँ के भन्नु्हुन्छ ?
— मुख्यरुपमा यसलाई नियाल्ने हो भने हाम्रो प्रथम महाधिवेशन नारा भनेको मधेशी राष्ट्रियतालाई बनाइएको छ । समानता और सम्मानका मधेशी राष्ट्र का पहिचान का यो नारा भनेको मधेशको जुन पहिचानको समस्या छ र यही पहिचानको समस्या नै अहिलेको राजनीतिको मुख्य एजेन्डा हो । यो नेपालमा मात्र नभएर दुनियाँको ग्लोबल एजेन्डा पहिचानको भएको छ । विगत हेर्ने हो भने बिपि कोइरालाले पनि राष्ट्र भनेको जनता हो, त्यसैले मधेशी राष्ट्रको कुरा गरिएको छ । मधेश एउटा राष्ट्र हो, मधेशी एउटा राष्ट्रियता हो भनेर हामीले यसलाई एजेन्डा नै बनाएका छौं । त्यसैले यसलाई अन्यथा नलिइकन, मधेशीले आफ्नो अस्तित्व खोजिरहेका छन्, मधेशी यो देशको नागरिक हो, मधेशीलाई आफ्नो भूगोल, भाषा, समृद्धि, सांस्कृतिक उजागर लगायत आर्थिक–राजनीतिक पक्षहरु उनीहरुको आधिपत्य हुनुपर्छ भन्नका लागि नै हाम्रो यो नारा ल्याइएको हो ।
० जसरी मधेशमा एउटा समूह जसले मधेशलाई छुट्टै राज्य बनाउनुपर्छ भन्ने अभियानमा लागेको छ, त्यसरी नै मधेशलाई भ्रमित त गर्न खोजेको होइन ?
— यसमा मधेशी दाजुभाईले के बुझ्नुपर्छ भने मधेश आफैमा एउटा राष्ट्र हो । मधेशीहरुको यो देशमा हरेक किसिमको आफ्नो विशेष पहिचान छ । भाषा, भूगोल, संस्कृति, रितिरीवाज आदि छन् ती सबै आआफ्नै किसिमका छन् । यसबाट गैरमधेशी समुदायले डराउनुपर्ने कुनै कुरा नै छैन । मधेशी राष्ट्र भनेको हामी छुट्टै राष्ट्र बनाउन गइरहेका छैनौं । नेपालभित्रै मधेशीको पहिचान, अस्तित्व लगायत स्थापनाको कुरा गर्न खोजेका छौं । मधेश आफ्नो पहिचान, स्वाभिमान र सम्मानका संघर्षरत् छ ।
० अन्तिममा गएर यसको उद्देश्य त्यहीं नै हुने हो त ?
— हामी मधेशलाई एउटा देश बनाउँछौं भन्ने सोच छैन । तर, पहिचान, स्वाभिमान र सम्मानका लागि मधेशी संघर्ष गरिरहेका छन् । यो देशभित्र मधेशीको स्पष्टरुपले पहिचान, स्वाभिमान र सम्मान सबै स्पष्ट हुनुपर्छ । यी सबैमा मधेशीकै आधिपत्य हुनुपर्छ । संघीयता, स्वशासन, सहशासन लगायतका विषयमा मधेशीले स्पष्टता खोजेका छन् । एउटा लामो आन्दोलन हुन्छ । यस विषयमा मधेशीहरु अब कसैको दास बनेर बस्न सक्दैन । मधेश एउटा राष्ट्र हो भने मधेशी एउटा राष्ट्रियता हो भन्ने एजेन्डा तमलोपाको स्थापनाकालदेखिकै हो ।
० तमलोपाको एउटा चर्चित नारा थियो ‘सत्ता हैन प्रभसत्ता चाहियो’ । यसमा तमलोपा कतिको अडिग भएको मान्नुहुन्छ ?
— एउटा कुरा के मान्नुपर्छ भने तमलोपाले अरु मधेशी पार्टीभन्दा अलग किसिमले प्रस्तुत गर्दै आएको छ । जसरी तपाइँ फोरमकै विभाजनलाई लिन सक्नुहुन्छ । उपेन्द्र यादवलाई पनि मन्त्री बन्नुपर्ने थियो र विजय गच्छदारलाई पनि, जसले गर्दा पार्टी विभाजन भयो । सद्भावनामा पनि त्यर्ही रवैया देखियो । तर, तमलोपा नै एउटा यस्तो पार्टी हो जसले हामी सत्तामा जाँदैनौं, जनतालाई अधिकार सम्पन्न बनाउँछौं भन्ने अडान थियो । हाम्रा पार्टी अध्यक्ष महन्थ ठाकुर पार्टी गठन भएदेखि अहिलेसम्म मन्त्री बन्नु भएको छैन । उहाँले एकदम इमान्दारिताका साथ संघर्ष गर्दै आउनु भएका छन् । मधेशी जनताले पनि उहाँ (महन्थ ठाकुर)माथि अपार विश्वास गर्छन् कि यदि मधेशका लागि केही गर्छ भने महन्थ ठाकुरले नै गर्छन् । त्यसैले प्रभुसत्ताको नारा अहिलेसम्म पनि कायमै छ । प्राविधिक कारण भनौं वा राजनीतिक उतारचढावका कारण कुनै बेला हाम्रो पार्टी सरकारमा गएको होला तर, तमलोपा मुख्यतः अधिकारवादी पार्टी हो ।
० तपाइँ एउटा युवा जमातको पनि प्रतिनिधित्व गर्दै हुनुहुन्छ । युवाका लागि यो महाधिवेशनले के योजनाहरु ल्याउँदैछ ?
— हाम्रो प्रयास हो कि हामी तमलोपालाई एउटा मोडेल पार्टी बनाऔं । तमलोपा एउटा हार्डलाइनर मधेशवादी पार्टी बनाऔं भन्ने उद्देश्य हो । अर्को कुरा जसरी मधेशी पार्टीहरुमाथि जातिवादीको आरोप लाग्ने गरेको छ त्यो नभएर तमलोपा समग्र मधेशको एउटा अनुहार देखाउने पार्टी बनाउँछौं भन्ने अभियान पनि हो । मधेशका दलित, जनजाति, मुस्लिमका साथसाथै पार्टीमा ऊर्जा दिने कार्य युवाले नै गर्छ । र, तमलोपामा योग्य र दक्ष युवाहरुको जमात नै रहेको छ । जबसम्म युवालाई निर्णायक ठाउँमा ल्याइँदैन तबसम्म मधेशी राष्ट्रियताको सपना पूरा हुनसक्दैन । हाम्रो पार्टी दर्जनौं युवाहरु छन् जसले नेतृत्व गर्न सक्छन् । त्यसैले मेरो व्यक्तिगत प्रस्ताव रहन्छ कि तमलोपामा महिला, जनजाति, मुस्लिम, दलितका साथसाथै युवा जमात पनि अगाडि ल्याउनुपर्छ ।
० तमलोपाप्रति आममधेशी आकर्षण हुनुपर्ने दुई कारण के–के हुनसक्छ ?
— कुनै पनि पार्टीको तीनवटा मुख्य कुरा हुन्छन्, जुन आधारमा पार्टीको भविष्य तय गरिन्छ । सर्वप्रथम तमलोपा वैचारिक निर्माण र संघर्षको थलो हो । अर्को पार्टीहरुले अधिवेशनको अर्थ नेतृत्व चयन मात्र बुझ्ने गरेको छ । तर, तमलोपाले अधिवेशनको मतलब नीति निर्माणमा बढी जोड दिएको छ । तमलोपा एउटा लोकतान्त्रिक समाजवादी पार्टी हो । त्यस्तै, तमलोपाका अध्यक्ष महन्थ ठाकुर एउटा निःस्वार्थी व्यक्ति हुनुहुन्छ । अर्को कुरा छ भने तमलोपाले कहिल्यै पनि मुद्दा वा सिद्धान्तसँग सम्झौता गरेको छैन । अहिले पनि मधेशको आन्दोलन तमलोपाकै कारण अगाडि बढिरहेको छ ।
० अन्त्यमा, तपाइँ पनि एउटा उम्मेदवारको रुपमा प्रस्तुत हुँदै हुनुहुन्छ, यसमा के भन्नुहुन्छ ?
— दोस्रो प्राथमिकता उम्मेदवारी हुन्छ, मुख्यतः पार्टीको सिद्धान्त, नीति, दर्शनमाथि बढी ध्यान छ । कुनै पदभन्दा आफ्नो एजेन्डामाथि अडिग हुनुपर्छ । नेतृत्व मेरो लागि ठूलो कुरा होइन । खासगरी मधेशका आधारभूत विकासका एजेन्डाहरु मेरो मुख्य एजेन्डा हो । एउटा भनाई छ कि सही व्यक्ति सही ठाउँमा जाँदा सही गन्तव्यमा पुगिन्छ । तथापि, आठ वर्ष विद्यार्थी संगठनको नेतृत्व गर्दै यहाँसम्म ल्याउनमा मेरो ठूलो योग्दान रह्यो । म दावाका साथ भन्छु कि तमलोपामा विद्यार्थी संगठन जस्तो मजबुत संगठन अन्य कुनै छैन । म आफ्नै स्वेच्छाले नेतृत्व हस्तान्तरण गरेको छु । म चाहन्छु कि अन्य संगठनहरु पनि यसरी नै गरोस् । जसरी विद्यार्थी संगठनले आफ्नो सफल महाधिवेशन सम्पन्न गर्यो त्यसरी नै अन्य संगठनहरुको नेतृत्व हस्तान्तरण होस् । पार्टीमा जबसम्म एक व्यक्ति एक पदको सिद्धान्त हुँदैन तबसम्म पार्टी मजबुत हुनसक्दैन ।



