
हुलाकी न्यूज, काठमाडौं ३ असार । मुलुकका समस्या समाधानमा सरकार जिम्मेवार बन्न नसकेकोले दबाब सृजना गर्न भन्दै नेकपा (माक्र्सवादी) आन्दोलनमा उत्रिएको छ ।
पार्टीले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा पहिलो चरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र र राष्ट्रपतिलाई स्मरण पत्र बुझाउने, आन्दोलनका कार्यक्रमहरुमा जनजागरण पैदा गर्न प्रचार प्रसार गर्ने, विभिन्न जिल्लाहरुमा धर्ना कार्यक्रम सञ्चालन गर्ने, कोणसभा गर्ने र यति गर्दा पनि सरकार जिम्मेवार नभए औद्योगिक प्रतिष्ठान, शैक्षिक सस्था बन्द र चक्का जाम गर्ने रहेका छन् ।
पार्टीको आन्दोलन परिचालन समितिका संयोजक तेज प्रकाश घिमिरेले भुकम्प पीडित अझै पनि खुला आकास मुनि बस्न बाध्य भएको, संविधानमा रहेका विभिन्न समूदायको असन्तुष्टी समावेश गर्न नसकेको र मुलुक भ्रष्टाचार, विकृति, महंगी र कालाबजारीबाट आक्रान्त रहेको अवस्थामा जिम्मेवार जनताका प्रतिनिधिको नाताले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको स्पष्ट पार्दै राज्यले आफूहरुको आग्रहलाई नसुने त्यसको गंभिर परिणाम भोग्नु पर्ने चेतावनी दिए ।



