
हुलाकी न्यूज, काठमाडौ, ३ असार । नेपाली काग्रेसका नेता डा. नारायण खड्काले भूकम्प पीडित र मधेशलाई रुवाउँदै प्रमुख प्रतिपक्षी नेपाली काग्रेसलाई चिढ्याएर मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले बजेटमार्फत विभिन्न क्षेत्रमा लगानी गरेर त्यसबाट चुनावमा फाईदा स्थिति र मंसिरसम्म सरकार कायम राख्ने योजनामा सरकारले चुनावको कार्यतालिका सार्वजनिक गरेको दावी गर्दै अहिले मुलुकमा निर्वाचन हुने बातावरण नबनिसकेको ठोकुवा गरे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा डा. खड्काले भने,‘ यो सक्रमणकालको अन्त्य गर्ने विशेष निर्वाचन हो । यस्तो अवस्थामा प्रतिपक्षीसँग छलफल नै नगरी निर्वाचन हुन सक्दैन । मधेशलाई पनि अहिले हल्का रुपमा लिनु हुँदैन । ऐन कानून केही बनेको छैन । सरकारले बजेटको फाईदा उठाउन हतारमा निर्वाचनको कुरा गरेको हो ।
उनले निर्वाचनकोलागि सहमतिको सरकार बन्नु पर्ने भन्दै सहमतिको सरकारमा ठूलो पार्टी भएकोले पहिलो दावी काग्रेसको हुने भएपनि दोस्रो विकल्पको रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयारहुने भए नेपाली काग्रेसले सहयोग गर्ने स्पष्ट पारे ।
नेकपा एमालेका सचिव भीम आचार्यले मधेशी मोर्चा सहभागि नभए पनि निर्वाचन नरोकिने दावी दावी गरे ।
उनले भने,‘ हिजो दोस्रो संविधानसभाको निर्वाचन मोहन बैद्य नेतृत्वको माओवादीसहितका दलहरुले बहिस्कार गर्दा पनि सफलतापूर्वक सम्पन्न भएको हो । अहिले पनि एकाधले बहिस्कार गर्दैमा निर्वाचन रोकिदैन । गुडेको ट्रेन छुट्यो भने छुटिहाल्छ ।’
मधेशी मोर्चाले अघि सारेको संविधान पुर्नलेखनको माग असम्भव रहेकोले कसैले पनि पुरा गर्न नसक्ने स्पष्ट पर्दै मोर्चाले भने अनुसारकै सबै माग पुरा हुन नसक्ने ठोकुवा गरे ।
नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले चुनावकोलागि राष्ट्रिय सहमति आवश्यक रहेको दावी गर्दै सरकारले कानून, नियम बनाउने लगायतका आन्तरिक तयार नगरी निर्वाचन घोषणा गरेको आरोप लगाए ।
तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधानमा सहमति नभएसम्म कसैले पनि चुनाव गर्न नसक्ने दावी गर्दै आफूहरुलाई बेवास्ता गरेर राज्यले चुनाव गराउन खोेजे आफूहरुले त्यसलाई रोक्ने चेतावनी दिए ।
उनले राज्यले जवरजस्ती चुनाव गराउन खोजे मुलुक भयंकर दुर्घटनामा फस्ने चेतावनी दिदै त्यस अवस्थामा मुलुकको राष्ट्रियता, एकता, अखण्डता र सार्वभौमसत्ता कमजोर भएर जाने ठोकुवा गरे ।
यादवले संविधान पुर्नलेखन गरेर सबैको अपनत्व हुने गरी संविधान कार्यान्वयन गर्नुको साटो सरकारले नाटकीय रुपमा चुनावको घोषणा गरेको भन्दै दलहरुवीच सहमति नभएसम्म हुने चुनावको कुनै औचित्य नहुने र आफूहरु पनि त्यस्तो निर्वाचनमा सहभागि नहुने स्पष्ट पारे ।
उनले संघीय गठबन्धनलाई समेत बार्तामा बोलाएर आफूहरुले अगाडि सारेको सात बुँदे प्रस्ताव स्विकार गरे मात्रै बार्ता हुने स्पष्ट पार्दै सरकारले अहिलेसम्म गरेको निर्णय कार्यान्वयन गरेर आन्दोलनमा मारिएकालाई शहीद घोषणा, क्षतिपूर्ति, घाईतेको उपचार र बन्दीहरुको रिहाई गरेपछि मात्रै बार्ताको बातावरण बन्ने बताए ।



