
हुलाकी न्यूज, काठमाडौं २ असार । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैको षड्यन्त्रले आन्दोलन नरोकिने दाबी गरेका छन् ।
‘आन्दोलनको स्वरुप परिवर्तन हुन सक्छ, कसैको षड्यन्त्रले आन्दोलन रोकिनेवाला छैन’, यादवले भने ।
फोरम नेपालको पार्टी कार्यालय तिनकुनेमा बुधबार एक कार्यक्रम आयोजना गरी प्रथम स्थापना दिवस मनाएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल, सङ्घीय समाजवादी पार्टी नेपाल र खस—समावेशी राष्ट्रिय पार्टी नेपाल तीनवटा पार्टीबीच गत १५ जुन २०१५ मा एकीकरण भई सङ्घीय समाजवादी फोरम, नेपाल नामक पार्टी बनेको थियो ।
मधेश विद्रोहबाट स्थापित फोरम नेपाल, आदिवासी जनजाति आन्दोलनको जगमा गठन भएको सङ्घीय समाजवादी र उत्पीडित खसको पहिचानका लागि स्थापित खस–समावेशी पार्टीबीचको एकता नेपालको राजनीतिको ऐतिहासिक एकीकरण भएको राजनीतिक वृत्तमा चर्चा भएको थियो र छ ।
त्यसैगरी, पार्टी स्थापनाको दिन मात्र सम्झिराखेका छैनौ, पार्टीको उद्धेश्य पुरा गर्न डटिरहेको ससफो नेपालका वरिष्ठ नेता अशोक राईले बताए, ‘मधेसमा आन्दोलन चलिरहँदा ताकी–ताकी निहत्था जनतामाथि गोली हान्ने र आफूलाई खोक्रो राष्ट्रियतको भ्रम छर्नेहरू यस पार्टीको नीति र कार्यक्रमले ती भ्रमहरूलाई क्रमशः निस्तेज पार्दै लगेको छ ।’



