
हुलाकी न्यूज, वीरगन्ज २ असार । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव स्थानीय शान्ति समिति पर्साको संयोजकमा चयन भएका छन् ।
शान्ति समितिको कार्यालय वीरगंज मुरली बगैंचामा पर्साका क्रियाशील १२ वटा राजनीतिक दलको बैठकले बुधबार यादवलाई समितिको संयोजकमा चयन गरेको हो । समितिका संयोजक यादवले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् ।
संयोजक यादवले सक्रिय र प्रतिबद्व भएर द्वन्द्व पीडितको पक्षमा काम गर्ने प्रतिक्रिया दिएका छन् । तत्कालीन माओवादी द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही माओवादीबाट पीडित बनेकाहरुको हकमा यथासीघ्र क्षतिपूर्ति दिलाउने, द्वन्द्वकालमा भएका घटनाहरुको छानबीन, सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि उजूरी तथा फारम संकलन लगायतका कार्यहरुलाई तत्काल तीब्रता दिने संयोजक यादवले बताए ।
समितिका निवर्तमान संयोजक एवं नेकपा माओवादी केन्द्रका नेता गोपाल पटेलको अध्यक्षतामा बसेको बैठकमा कांगे्रसका दिनेश चौधरी, एमालेका गंगा खड्का, रामसपाका अध्यक्ष प्रेम बाबु पटेल, तमलोपाका मनोज मिश्रा, सद्भावना पार्टी इम्दाद गद्दी, तराई मधेस सद्भावना पार्टीका श्रीराम गिरी र द्वन्द्व पीडित समूहका तर्फबाट सायदा खातुन लगायतको सहभागिता थियो ।



