
अंकुश कुमार श्रीवास्तव, कपिलवस्तु २ असार । बिन्दवासिनी गणका सशस्त्र प्रहरी जवानबाट बलात्कृत महिलाको उपचार गर्न र बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गर्दै कपिलवस्तुवासीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् ।
गत जेठ ३० गते साँझ कपिलवस्तुको शिवराज नगरपालिका–१० कि बोल्न नसक्ने एक थारु महिला सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका जवानहरुबाट बलात्कृत भएकी थिइन् । उनको स्वास्थ्य नाजुक रहेको र उपचार खर्च कतैबाट नपाएको भन्दै स्थानीय महिलाहरुले चन्दा संकलन गरी उपचार गराइरहेका छन् ।
आइतबार दिउँसो भैंसी चराउन गएकाबेला बोल्न नसक्ने ति महिलालाई सशस्त्र प्रहरीका जवानहरुले हातखुट्टा बाँधेर झाडीमा फालेको र साँझ परेपछि पालैपालो बलात्कार गरेका थिए ।
बलात्कारमा संलग्न भएको भन्दै बैतडीको बिसनपुर–६ घर भएका जवान लोकराज वस्तीलाई मात्र प्रहरीले पक्राउ गरेको तर अन्यलाई उन्मुक्ती दिन खोजिएको भन्दै स्थानीयबासीले आन्दोलन थालेका छन् ।
बलात्कृत महिलाको स्थानीय अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारका लागि भैरहवा पठाइएको थियो । भैरहवा अस्पतालले मंगलबार साँझ उनलाई डिस्चार्ज गरेको थियो ।
तर उनको स्वास्थ्यमा सुधार हुन नसकेको भन्दै स्थानीयले चन्दा संकलन गरी बुधबार फेरि उपचारका लागि बुटवल पठाएका छन् ।
उनलाई बान्ता हुने, उठबस गराउनु पर्ने, चेतना हराएको जस्तो लठ्ठ परिरहने, खाना नखाने लगायतका लक्षण देखिएपछि उपचारका लागि बुटवल पठाइएको परिवारका एक सदस्यले जानकारी दिए ।
घटनापछि पीडित महिलाले हालसम्म एउटा पाउरोटी र विस्कुटमात्र खाएको परिवारका सदस्यको भनाइ छ । सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणले एक जनालाई मात्रै पक्राउ गरेको र अरुलाई संरक्षण गरेको भन्दै चक्काजाम गरेका स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।



