
हुलाकी न्यूज, काठमाडौं ३२ जेठ । सरकारले वार्ताका लागि पठाएको पत्रप्रति मोर्चाका नेताहरुले सकारात्मक रहेको बताएपनि वार्ता गर्ने मनसाय नरहेको आरोप लागेको छ ।
अहिले आन्दोलनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धन रहेको सरकारले पत्र पठाउँदा गठबन्धनको नाममा पठाउनुपर्ने नेताहरुले बताएका छन् ।
अन्र्तगर्तको आन्दोलनरत मधेशी मोर्चाको एक घटक मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीद्धारा आह्वान गरिएको वार्ता सकारात्मक भएको टिप्पणी गरेका छन् ।
यादवले अबको वार्ता बन्द कोठाभित्र नभएर सार्वजनिक ठाउँमा प्रत्यक्ष प्रशारण हुने गरि गरिनुपर्ने बताए । उनले भने, ‘हामी सरकारको चिया विस्कुट खानको लागि मात्रै वार्तामा बस्दैनौं, वार्तामा को जिम्मेवारी छैन भनेर जनतालाई थाहा पाउन समेत सजिलो हुनेगरि सार्वजनिक ठाउँमा वार्ता गर्नु उचित हुन्छ ।’
मोर्चाकै एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जीतेन्द्र सोनलले अहिलेकै अवस्थामा वार्ता हुन नसक्ने बताए । सोनलले आफुहरु अघि सारेका जायज मागप्रति पत्रमै स्पष्ट हुनेगरि प्रबिद्धता आएमात्रै वार्ता हुने नभए नहुने जिकिर गरे ।
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले संघीय गठबन्धनकै स्वामित्वमा अहिले आन्दोलन भैरहेकोले चिठ्ठी पनि गठबन्धनकै नाममा आउनुपर्ने बताए । यद्धपी उनले गठबन्धन वार्ताको विरोधी नभएको स्पष्ट पारे । उनले चिठ्ठीको व्यहोरा हेरेमात्रै गठबन्धनले सामूहिक निर्णय लिने जानकारी दिए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार आन्दोलनरत पक्षहरुको मागप्रति सँधै जिम्मेवार रहेको उल्लेख गर्दै भने, ‘प्रधानमन्त्रीले समस्याको हल गर्नकै लागि पत्राचार गर्नुभएको हो, यो कुनै चोर पुलिसको खेल गर्न गरिएको होईन् ।’ उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित गठबन्धनमा आवद्ध सातैवटा संघर्ष समितिको नाममा पत्राचार गरिएको जानकारी समेत दिए ।



