
हुलाकी न्यूज, काठमाडौं ३० जेठ । संघीय गठबन्धनको तेस्रो चरणको आन्दोलनअन्तर्गतको रिले अनसनलाई ऐक्यबद्धता र समर्थन जनाउने क्रम जारी रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी, संयुक्तका अध्यक्ष गणेश साहसहितको टोलीले आइतबार अपरान्ह अनसनस्थल शहिद मञ्चमा पुगेर ऐक्यबद्धता जनाएका छन् । अनसनस्थल पुगेर समर्थन जनाउने क्रममा शाहले छोटो मन्तव्य समेत राखेका थिए । ‘तपाईंहरूको माग हाम्रो माग हो र सबै नेपालीको माग हो,’ अध्यक्ष शाहले भने, ‘हाम्रो पार्टीको हार्दिक समर्थन छ ।’
‘मधेसी, जनजाति, दलितलगायत अन्य सिमान्तकृत समुदायहरू राज्यद्वारा सधै विभेदका सिकार हुँदै आएका छन् र यस सिलसिलामा विभिन्न समुदायमार्फत आफ्नो माग उठाउँदै पनि आएका छन् । राज्यले आन्दोलनको बेला सम्झौता गर्ने तर सम्झौताको कार्यन्वयन नगर्ने प्रवृतिको हाम्रो पार्टी घोर विरोध गर्दछ,’ अध्यक्ष शाहले अनसन उपस्थिती पुस्तिका लेखेको ससफो नेपालका केन्द्रीय सदस्य ध्यानबहादुर राईले जानकारी दिए, ‘संविधान निर्माणको बेलादेखि नै मधेसको मुद्धाहरू लिएर उठेको आन्दोलनप्रति हाम्रो पार्टी समर्थन तथा ऐक्यबद्धता प्रकट गर्दछ र हाल संघीय गठबन्धनद्वारा जारी रिले अनसनप्रति पनि एक्यबद्धता व्यक्त गर्दछौं साथै वार्तामार्फत आन्दोलनरत दल र समुहहरूको मागहरू सम्बोधन गर्न सरकारसँग माग गर्दछौं ।’
अध्यक्ष शाहसहित माननीय व्यवस्थापिका–सांसद दयादेव जोशी र नेकपा संयुक्तका पोलिटब्युरो सदस्य कल्याणी शाहलगायत नेताहरु अनसनस्थल शहिदमञ्च पुगेका थिए ।
गठबन्धनको जारी रिले अनसनलाई पूर्व प्रधानमन्त्रीदेखि मानवअधिकारवादी, नागरिक समाजका अगुवा, पत्रकार, चिकित्सक, पूर्व सभामुख, पूर्व निर्वाचन आयुक्त प्रमुखसम्मले शहिदमञ्च नै पुगेर समर्थन जनाइ सकेका छन् ।
रिले अनसनलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व निर्वाचन आयुक्त प्रमुख भोजराल पोखरेल, मानवअधिकारीवादीहरू, सुदिप पाठक, सुभोध प्याकुरेल, चरण प्रसाईं, कोपिल श्रेष्ठ, इन्द्रप्रसाद अर्याललगायतले समर्थन जनाउन अनसनस्थल पुगिसकेका छन् ।
त्यसैगरी, नागरिक समाजका अगुवा डा. सुन्दरमणी दीक्षित, राजनीतिक विश्लेषक सिके लाल, अधिवक्ता दीपेन्द्र झा, लेखक धिरेन्द्र प्रेमर्षी, पत्रकार दण्ड गुरुङ, चिकित्सक डा. केदारसिंह केसी र दिव्या केसीले पनि अनसनस्थल पुगेर समर्थन जनाइ सकेका छन् ।



